मुसिकोटका पहिरो पीडित परिवारलाइ ७ लाख राहत रकम हस्तान्तरण

admin

२०८१ आश्विन १२ गते, शनिबार १९:५९ मा प्रकाशित

गुल्मी, असोज १२ । गुल्मीको मुसिकोट नगरपालिकामा ‐१ स्थीत बिसौनामा गत दुइ महिना अघि पहिरोमापरि ज्यान गुमाएका बिक परिबारलाई राहत रकम हस्तान्तरण गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति गुल्मीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको नेतृत्वमा वर्षादको झरीमा पनि गाउँमै पुगेर मृतकका परिबारलाई ७ लाख रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी शर्माद्वारा प्रदेश सरकार र संघिय सरकारको विपद व्यवस्थापन कोषबाट प्राप्त राहत रकम मुसिकोट नगरपालिका प्रमुख जिवलाल खरेल जीवन, उपप्रमुख गंगा श्रेष्ठ सहित जिल्ला स्थीत सुरक्षा निकायका प्रमुख र स्थानीयहरुको रोहबरमा मृतकका परिवारलाइ हस्तान्तरण गरिएको हो ।

पहिरोमापरि ज्यान गुमाएका मसुरी विक र उनकी छोरी सहित चारै जनाका आफन्तहरुलाई प्रदेश सरकारबाट प्राप्त ४ लाख र संघीय सरकारबाट उपलब्ध गराउन बाँकी रहेको ३ लाख गरि ७ लाख रुपैंया हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले शोकाकुल परिवारलाई भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै संघीय र प्रदेश सरकारबाट पडित परिवारलाई उक्त राहत उपलब्ध गराएको बताउनु भएको थियो ।

राहत रकम हस्तान्तरण कार्यक्रमा मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेल जीवनले नगरपालिकाबाट मृतकका परिवारलाई यस अघि किरिया खर्च वापतको रकम उपलब्ध गराईसकेको र घाईतेहरुको सम्पुर्ण उपचार खर्च नगरपालिकाले व्यहोर्ने जानकारी गराउनु भएको थियो । उहाँले पीडित परिवारलाई चाँडै नि पुर्नवासको व्यवस्था मिलाउने तयारी गरिरहेको बताउनु भयो ।

गत साउन १६ गते पहिरोमा परेर मुसिकोट नगरपालिकामा ‐१ स्थीत बिसौनामा चार जनाको मृत्यु भएको थियो । पहिरोमा विस्थापित बनेका परिवारहरु यतिबेला स्थानीयहरुको घरमा आश्रय लिएका छन ।

यस अघि गत असार १४ गते मालिका गाउँपालिका ‐६ स्थीत कँडेलपाटामा पहिरोमापरि मृत्यु भएका एकै घरका पाँच जनाको परिवारलाई जिल्ला विपद व्यवस्थापन समिति गुल्मीबाट रु ११ लाख राहत रकम हस्तान्तरण गरिएको थियो । पहिरोका कारण गुल्मीको मालिका गाउँपालिका र मुसिकोट नगरपालिकामा गरि यस पटक नौ जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा सबै दलित समुदायका विक परिवार रहेका छन ।