गुल्मीदरबारद्वारा पत्रकार सम्मेलन मार्फत समसामयीक विषयमा जानकारी

admin

२०८१ आश्विन १३ गते, आईतवार १९:१५ मा प्रकाशित

गुल्मी, १३ असोज । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले समसामयिक विषयमा पत्रकार सम्मलेनको आयोजना गरेको छ । गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले आयोजना गरेको पत्रकार सम्मेलनमा पालिकाले हालसम्म गरेका विकास निर्माणका गतिविधि र आगामी दिनमा शुरु गर्न लागेका विकास निर्माणका कामहरुको बारेमा जानकारी गराउनु भएको छ ।

उहाँले विकास निर्माणमा गुल्मीदरबार गाउँपालिकाले स्थानीय स्रोत र साधनको उपयोग गर्दै प्रदेश र संघिय सरकारबाट सञ्चालित योजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले वर्षाको कारण देशमा ठूलो धनजनको क्षती भएको त्यसको असर पालिकामा समेत परेको हुँदा विपदको समयमा सबैलाई सर्तक हुन आग्रह गर्दै मानवीय सहयोगमा जुटन सबैमा आग्रह गर्नु भएको छ ।

पछिल्लो समयमा पालिकाले विकास निर्माणलाई मुख्य केन्द्रमा राखेर काम गरिरहेको अबस्थामा केही सञ्चार माध्यमहरुले त्यसलाई बङ्ग्याएर गलत प्रचार गर्न खोजेको बताउनु भयो । उहाँले कुनै कुरामा कमीकमजोरी भए त्यसलाई सच्याएर अघि बढ्न सकिने भन्दै काम गर्नेहरुलाई निरुत्साहित गर्नका लागि कसैले पनि भ्रम सिर्जना गर्न नहुने बताउनु भयो । गाउँपालिकाले आइतबार पत्रकार सम्मेलन गर्दै सामाजिक सञ्जालहरुमा गाउँपालिकालाई जोडेर नागरिकमा भ्रम सिर्जना गर्ने काम गरिएको भन्दै पालिकाको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो ।

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष थापाले केही कुरामा अष्पस्ट भए सम्बन्धित संस्था र पदाधिकारीलाई सोध्ने, खबरदारी गर्ने, सुझाव सल्लाह दिन सकिने भन्दै नागरिकलाई त्यस्ता प्रकारका गलत सूचनाको पछाडि नलाग्न आग्रह समेत गर्नु भएको थियो । उहाँले गाउँपालिकाले १५ शैयाको अस्पताल चाडै सञ्चालनमा ल्याउन तयारी गरिरहेको भन्दै त्यसका लागि पालिकाले कर्मचारीहरुको समेत माग गरेको जानकारी दिनुभयो ।

अध्यक्ष थापाले पालिका भित्र विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरिएको, सडकहरू ग्राभेल र कालेपत्रे गर्ने काम भैरहेको, एक घर एक धारा कार्यक्रम मार्फत खानेपानी पुगेका ठाउँमा थप कार्यक्रमहरु अघि बढाएको र संमृद्ध गुल्मीदरबारको विकासका लागि जनप्रतिनिधिहरु सधै क्रियाशिल रुपमा लागि परेको पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियो । पत्रकार सम्मलेलनमा गाउँपालिका उपाध्यक्ष ताराथापा ढेँगा, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो ।