काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशालाले गुल्मीमा सत्यवतिको पहिचान झल्कायो 

admin

२०८१ कार्तिक ११ गते, आईतवार १७:०५ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, ११ कात्तिक । गुल्मीको पर्यटकीय स्थल सत्यवति क्षेत्रमा काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशालाले सत्यवतिको पहिचान झल्काएको छ । सत्यवति गाउँपालिकाको आयोजनामा उक्त कार्यशाला सञ्चालन गरिएको हो । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र सत्यवतिको प्रचार–प्रसारमा टेवा पुराउने उदेश्यले सत्यवति गाउँपालिका–३ ठूलोलुम्पेकको सत्यवति क्षेत्रमा पालिकाको आयोजनामा काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशाला आयोजना गरिएको सत्यवति गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिनुभएको छ ।

सत्यवति गाउँपालिकाको पहिचानसँग जोडिएको सत्यवति क्षेत्रको ग्रामीण पर्यटन प्रवद्र्धनको लागि कार्यशालाले थप टेवा पुराएको सत्यवति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले बताउनु भयो । मूर्तिकार तथा चित्रकारले सत्यवती क्षेत्रको पहिचानसँग जोडिएका विभिन्न प्रकारका दुइ दर्जन भन्दा बढि मूर्ति तथा चित्रहरू बनाएका छन् । जङ्गलमा सडेर जाने गुँरासका काठहरुमा साँस्कृतिक, प्राकृतिक र धार्मिक आस्था सहित सत्यवति क्षेत्रको भावना समेटिएका आर्कषक मूर्तिहरु कोरिएको कलाकारहरुको संयोजन गरिरहेका प्राज्ञ एवं बरिष्ठ मूर्तिकार याम बहादुर थापाले बताउनु भयो ।

सत्यवति गाउँपालिकाकै मूर्ति तथा चित्रकारहरुको अगुवाईमा निशुल्क कार्याशाला सञ्चालन गरिएको थियो । सत्यवति गाउँपालिकाका प्राज्ञ एवं बरिष्ठ मूर्तिकार भुवन थापा मगर ‘बहुवी’, याम बहादुर थापा र नरेन्द्र भण्डारीले आफु र विभिन्न ठाउँका कलाकार मार्फत सत्यवति क्षेत्रको पर्यटकीय विकासको लागि निशुल्क रुपमा मूर्ति तथा चित्रहरु निर्माण गरेको बताउनु भयो । मुर्तिकार तथा चित्रकारहरुले सत्यवति क्षेत्रका मठ मन्दिर तथा पुर्व प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्मको तस्बिर बनाएका छन् ।

पर्यटन बोर्ड एवं गाउँपालिकाको सहयोगमा उक्त क्षेत्रमा गत वर्ष पिकनिक स्र्पोट, ट्रस, शौचालय, पार्क गरि ५८ लाख भन्दा बढि लागतका संरचना निर्माण गरिएको छ । सत्यवति गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले आफ्नो जन्मभूमिप्रति मूर्ति तथा चित्रकारले देखाएका उर्जा र सहयोगी भावनाको उच्च गर्नु भएको थियो । उहाँले मूर्तिकार तथा चित्रकारहरुले निकै दुखले निर्माण गरेका मूर्ति तथा चित्रहरुको संरक्षणमा गाउँपालिकालाई चुनौति थपिएको बताउनु भयो ।

कार्यशालाको समापन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य यमु गैरे, कालिगण्डकी गाउँपालिका अध्यक्ष बेद थापा, सत्यवति तथा कालिगण्डकीका वडाध्यक्ष तथा जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो । नेपाल सरकारको एक सय नयाँ पर्यटकीय गन्तव्य मध्ये सत्यवति क्षेत्र पनि एउटा गन्तव्य स्थलमा पर्दछ । गाउँपालिकाले १० दिनसम्म मूर्ति तथा चित्र निर्माण गरेका कलाकारहरु तथा स्वयसेवकहरुलाई सम्मान समेत गरेको छ । सत्यवती क्षेत्रमा दश दिनसम्म सञ्चालन गरिएको कार्यशालामा स्वदेश तथा विदेशमा ख्याती कमाएका २३ जना मूर्तिकार तथा चित्रकारहरुको सहभागीता रहेको थियो ।