२१ कार्तिक २०८१, बुधबार
बिद्यार्थीहरुद्वारा गुल्मीमा मखमली र सयपत्री फुल खेती
गुल्मी, १४ कात्तिक । गुल्मीको तुराङ बहुप्राबिधिक शिक्षालयका बिद्यार्थीहरुले मखमली र सयपत्रीको फुल खेती गरेका छन । जिल्लाको चन्द्रकोट गाउँपालिका –८ अन्तरगत मजुवामा रहेको शिक्षालयमा तीन बर्षे स्नातकतह कृषिबाली बिज्ञान अध्ययन गर्ने बिद्यार्थी र शिक्षालयको सहयोगमा तिहार लक्षित गरेर छरेको सयपत्री र मखमली फुलले बगैँचा ढकमक्क बनाएको छ ।
२०७८ सालमा स्थापित सिटिइभिटीको आङ्गिकको रुपमा रहेको प्राबिधिक शिक्षालयले बिद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास गराउने उद्देश्य अनुरुप १० रोपनी जग्गा भाडामा लिएर कृषि अभ्यास गराउदै आईरहेको छ । कृषिलाई उद्यमशिलतासँग जोड्दै स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले बिद्यार्थीहरु मार्फत विभिन्न काम गर्दै आएको शिक्षालय प्रमुख प्रदिप राज पाण्डेले बताउनु भयो । उहाँले अहिले चाडपर्वलाई लक्षित गर्दै मखमली फुल र सयपत्री फुल रोपिएको जानकारी दिनुभयो ।
प्राबिधिक शिक्षालयले बिद्यार्थीहरुले अहिले तीन रोपनी जग्गामा फुल र सात रोपनी जग्गामा तरकारी खेति गर्दै आएका छन । बगैचामा उत्पादन भएको फुलको माग बजारमा अत्यधिक रहेको छ । स्थानीय बजारसँगै पाल्पा र बुटवलसम्म फुलहरु पठाउने गरेको शिक्षालयको कृषि प्राविधिक रोशनी बन्जाडेले बताउनु भयो । अहिले एक क्विन्टल भन्दा धेरै फुलको माग भैसकेको र शिक्षालयको आफ्नै सवारी साधन नभएकाले टाढा–टाढा पुराउन समस्या परेको बन्जाडेले बताउनु भयो ।
अहिले बजारमा प्रति किलो तीन सय रुपैयाँमा फुल बिक्री भइरहेको छ । त्यस्तै शिक्षालयमा फुल मात्र हैन तरकारी खेती समेत गरिएको छ । शिक्षालयको फर्ममा अहिले काउली, बन्दागोभी, ब्रोकाउली, भाण्टा, सिमी, रैथाने जातको स्थानीय सिमि, डल्ले खुर्सानी, काक्रो र टमाटर लगाएको खेती गरिएको छ ।
सिटिइभिटीको ‘सिक, कमाउ र तिर’ भन्ने अबधारणा लाई आत्मसात गर्दै शिक्षालयले कार्य गर्दै आएको छ । शिक्षालयमा हाल गुल्मी सहित सुर्खेत, हुम्ला, जुम्ला, बाजुरा, मुगु, लमजुङ, बाग्लुङ, नवलपरासी र प्युठान लगायतका जिल्लाका विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन ।