२४ मंसिर २०८१, सोमबार
घर खर्च जुटाउन अम्बा बिक्रि गरेर नुनतेलको जोहो
गुल्मी, १६ कात्तिक । जब चाँडवाडहरु नजिकिदैं जान थाल्छन् तव टाउकोमा नाम्लो र पिठ्यूमा डोकोभरी बेलाउती (अम्बा) बोकेर सहर पस्ने गर्दछन गुल्मीका विपन्न परिवारका महिलाहरु । घरको आर्थिक अबस्था कमजोर बनेका जिल्लाको पश्चिमि क्षेत्रका विपन्न परिवारका महिलाहरु घरको चुलोचौको गर्ने समयमा पनि तिहारमा खर्चको जोहोका लागि डोकोमा अम्बाको भारी बोकेर बिहानै सदरमुकाम तम्घास धाउन बाध्य छन् ।
उनीहरु दशै तिहार जस्ता चाडबाडको समयमा वर्षेनी कहिले पैदल यात्रा त कहिलो सवारी साधन मार्फत बेलाउती (अम्बा) बिक्रि गर्न सदरमुकाम तम्घास आउने दैनिकी जस्तै बनेको छ । घरदेखि सदरमुकाम तम्घाससम्म आउन यातायातको सहज पहुँच भएपनि गाडिको भाडा बचाउनका लागि पैदलै हिँडेर सदरमुकाम आउने गर्दछन् । एकाबिहानै पिठ्युमा डोकाभरी अम्बाको भारी बोकेर झिस्मिसेमा आँखा मिच्दै घरवाट हिँडेका ती महिलाहरु सदरमुकामसम्म आईपुग्दा पसिनाले निथ्रुक्कै भिजेका हुन्छन् ।
गाउँमा यतिवेला प्राय धेरैका खर्यान तथा बारीहरुमा अम्बा प्रशस्त मात्रमा पाईन्छन । गाउँमा अम्बाको खासै महत्व नहुने भएका कारण उनीहरु पाकेको अम्वा टिपेर बिक्रिका लागि ल्याउने गर्दछन् । यसो गर्दा अम्बा पनि खेर नजाने र कलीकति भएपनि आम्दानी गर्न सकिने भएका कारण अम्बा बोकेर बिक्रिका लागि सदरमुकामसम्म आउने जाँगर बढेको ईस्मा गाउँपालिका ५ बुल्मकी भिमकला कुमालले बताउनु भयो ।
धुर्कोट गाउँपालिकाका लक्ष्मी मुखिया र राधिका मुखिया पनि तिहारमा अम्बा बिक्रि गरेर नुनतेल र चिनी किन्न खर्च जुटाउनका लागि सदरमुकाम तम्घाससम्म आईपुगेको बताउनुहुन्छ । सिजन अनुसारको फल भएका कारण सवैले मन पराउने र खान पनि निकै स्वादिलो हुनेभएका कारण आफुहरु तम्घास आईपुगेको उहाँहरुले बताउनुभयो । “भनेको समयमा कसैले पैसा सापटी दिँदैन घरको अबस्था पनि त्यस्तै छ, अर्काको घरमा मेलापात गरेर जीवन गुजारा गर्नुपर्छ, त्यही भएर फुर्सदको खाली समयमा बेलाउती (अम्बा) बिक्रि गर्न आईपुगेका हौं,” राधिका मुखियाले भन्नु भयो ।
राधिका मुखिया आफुले डोकोमा बोकेर ल्याएको अम्वा बिक्रि गरेर दैनिक पाँच सयदेखि आठ सय रुपैंयाँसम्म आम्दानी गर्दै आएको बताउँनुहुन्छ । एउटा दाना अम्बालाई दुई रुपैंयादेखि तीन रुपैंयाँमा बिक्रि हुनेगर्दछ । बिक्रि गरेको पैसाले तिहारमा रोटी पकाउन तेल र चिनी किनेर जानेहो ।” मुखियाले भन्नुभयो । शहरदेखि गाउँसम्म यतिबेला दशैं सकिएसँगै तिहारको चहल पहल बढ्दै जान थालेको छ । तर जिल्लाका विपन्न परिबारका नागरिकहरु भने तिहारखर्च जुटाउन सडकमा बसेर बेलाउती (अम्बा) बिक्रिका लागि ग्राहकको प्रतिक्षामा बसिरहेका देखिन्छन ।