२४ मंसिर २०८१, सोमबार
अख्तियारमा गुल्मीका ६० उजुरी दर्ता २५ वटा अझै छानबिनमा
गुल्मी, ८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गुल्मीका ६० वटा उजुरी दर्ता भएका छन । अख्तियार बुटवल कार्यालयमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० वटा उजुरी दर्ता भएको बताइएको छ । अख्तियारमा दर्ता भएका उजुरीहरु मध्ये ३५ वटा फछ्र्यौट भएको र बाँकी २५ वटा उजुरी छानविनकै क्रममा रहेको अख्तियार बुटवल कार्यालयले जानकारी गराएको छ ।
अख्तियारमा दर्ता भएका उजुरीहरु मध्य रेसुंगा नगरपालिकाको ९, मुसिकोट नगरपालिका ५,इस्मा गाउँपालिका ६, कालीगण्डकीको ३, सत्यवतीको ७, चन्द्रकोटको २, रुरुक्षेत्रको ६, छत्रकोटको २, धुर्कोटको ६, मदानेको ५, मालीकाको ८ र गुल्मीदरबार गाउँपालिकाको १ उजुरी गरि कुल ६० उजुरी दर्ता भएको बताईएको छ । दर्ता भएका उजुरीहरु मध्य कालीगण्डकी गाउँपालिकाको उजुरी फछर्यौट भईसकेको छ भने अन्य पालिकाहरुका ३५ वटा उजुरी फछर्यौट भई २५ वटा अझै फछर्यौट हुन बाँकी रहेको अख्तियारले जनाएको छ ।
पछिल्लो समयम स्थानीय तहमा उजुरीको संख्या बढदै थालेसँगै स्थानीय तह र अख्तियार दुरुपयोग अनुसन्धान आयोग बिचको दुरी कम गर्ने उदेश्ले गुल्मीमा जिल्ला स्तरीयरुपमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । सदरमुकाम तम्घासमा गरिएको कार्यक्रममा दुइ नगरपालिका सहित १२ वटा स्थानीय तहका प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत लगायत सरोकारवालाहरुको सहभागितामा कार्यक्रमक सञ्चालन गरिएको हो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह सचिव रमेशकुमार केसीले अख्तियारले गर्ने कार्य र क्षेत्राधिकारका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजेन्द्रकुमार पौडेलले गुल्मी जिल्लासहित कार्यक्षेत्र भित्र रहेका आठवटा जिल्लाको बारेमा जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तुहरु एवं स्थानीय तहलाई आयोगका सुझावहरुका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपचारात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक गरी मूख्य रुपमा तीन किसिमका रणनीतिक उपायहरूमार्फत भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्य गर्दै आएको छ । कार्यक्रममा सहभागीले अख्तियारसङ्ग सम्बन्धी आफ्ना अनुभव र थप जिज्ञासा राखेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डाक्टर हरि पौडेलले पछिल्लो समयमा अख्तियारसङग डराउने भाष्य निर्माण भएको भन्दै सही नियतले काम गर्दा कसैसङ्ग डराउन नपर्ने बताउनु भएको छ । उहाँले अख्तियारमा उजुरी पर्दैमा विकास निर्माणका कामहरु रोक्ने गरेको भन्दै त्यसो नगर्न आग्रह गर्नु भएको थयो ।