विद्यार्थीलाई व्याबहारिक शिक्षा प्रदानका लागि रिडर्समा खाद्य महोत्सव 

admin

२०८१ पुष १९ गते, शुक्रबार १८:४८ मा प्रकाशित

गुल्मी, १९ पुस । गुल्मीको सदरमुकाम तम्घास स्थीत रिडर्स पब्लीक हाइस्कुलले विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा व्याबहारिक शिक्षाका प्रदान गर्नका लागि अतिरिक्त क्रियाकलाप अन्र्तगत खाद्य महोत्सव, साँस्कृतिक र खेलकुद मिट प्रर्दशनी २०८१ को आयोजना गरेको छ । विद्यालयमा विद्यार्थीहरुको पठनपाठनसँगै उनीहरुलाई स्थानीय कला सँस्कृती एवं विभिन्न खाद्य परिकारहरुको बारेमा व्यावहारिक रुपमा जानकारी गराउने उद्देश्यले उक्त महोत्सवको आयोजना गरिएको विद्यालयका प्राधानाध्यापक श्रीप्रसाद भलामीले जानकारी दिनुभयो ।

कार्यक्रममा खाद्य महोत्सवको अवलोकन गर्न र रैथाने परिकारहरु चाख्नका लागि अभिभावकहरुदेखि विद्यार्थी एवं शिक्षक शिक्षीकाहरुको दिनभर घुँईचो लागेको थियो । विद्यार्थीहरुले भिन्नै स्टल राखेर शिक्षक शिक्षिकाहरुसँगै तयार पारेका विभिन्न प्रकारका खाद्य परिकारहरू बिक्रि समेत गरेका थिए । विद्यार्थीहरुले राखेको स्टलमा नेवारी परिकारहरु योमोरीदेखि, स्थानीय आलुको अचार, सिस्नो, पकौडा, मालपुवा, फुरौला, खिर, ढकनी, बटुक, सेलरोटी, कोदाको रोटीसँगै उसिनेको तरुल, गिठा लगायत दुई दर्जन भन्दा बढी विभिन्न परिकारहरु राखिएको थियो ।

गाउँघरमा लोप हुँदै जान थालेका परम्परागत खानाका परिकारहरुदेखि समाजमा रहेका विभिन्न जातजातीका मौलीक कला र संस्कृतिको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट विभिन्न प्रस्तुती र झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । बिद्यार्थीहरुलाई स्थानीय खानाका परिकारहरुको बारेमा जानकारी दिने र उनीहरुमा व्यावसायीक ज्ञानको विकास गराउने उद्देश्यले खाद्य महोत्सवको आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक टिका भलामीले बताउनु भयो ।

सधै घरमा आमाबावुले बनाएको खाना खाने बानी परेका विद्यार्थीहरुले महोत्सवमा आफैले तयार पारेका विभिन्न परिकार बनाएर अरुलाई चखाएका थिए । कार्यक्रममा रेसुङ्गा नगरपालिकाको तर्फबाट उपप्रमुख अमृतादेवी कुँवरले यस्ता कार्यक्रमहरुले अन्य विद्यालयलाई पनि सकारात्मक सन्देश प्रदान गर्ने भन्दै विद्यार्थीहरुलाई घरबाटै व्यावहारिक र नैतिक ज्ञान दिन थप मद्दत पुग्ने बताउनु भएको थियो । खाद्य महोत्सवमा अभिभावकहरुले पनि आफ्ना बालबालीकालाई थोरै भए पनि घरबाटै व्यावहारिक शिक्षा पनि सिकाउनुपर्छ भन्ने सन्देश प्रदान गरेको छ ।