२७ माघ २०८१, आईतवार
गुल्मीको धार्मिक स्थल रुरुक्षेत्रमा दिनभर श्रद्धालुहरुको घुँईचो

गुल्मी, १ माघ । माघेसङ्क्रान्तिको अवशरमा गुल्मीको पबित्र धार्मिक स्थल रुरुक्षेत्र रिडीमा मंगलबार बिहानैदेखि भक्तजनहरुको दिनभर घुँइचो लागेको छ । मकर सङ्क्रान्तिमा कालीगण्डकी नदीमा स्नान गर्नका लागि गुल्मी लगायत पाल्पा, अर्घाखाँची, स्याङ्जा, प्यूठान, रुकुम, रोल्पा, रुपन्देही, दाङ, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाहरुबाट आएका भक्तजनहरुको दिनभर रुरुक्षेत्रको कालीगण्डकी नदीमा बाक्लो उपस्थिति रहेको थियो ।
मकर सङ्क्रान्तिमा रुरुक्षेत्रको कालीगण्डकी नदीमा स्नान गरेपछि नजिकै रहेको रिषीकेश मन्दिरमा पुगेर पुजाआजा गर्ने परम्परा छ । भक्तजनहरु घण्टौसम्म लाईनमा बसेर पुजा गरेपछि मात्र घर फर्कने गर्दछन । रुरुक्षेत्रको कालीगण्डकी नदीमा स्नान गरेपछि आफुले अञ्जानमा गरेका सम्पूर्ण पापहरु नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने आस्था एवं जनविश्वास छ । त्यही आस्थाका कारण यहाँ नेपालका विभिन्न क्षेत्र लगायत भारतको अयोध्या र बनारसबाट समेत कालीडण्डकी स्नानका लागि भक्तजनहरु रिडी आईपुगेका हुन ।
विगत वर्षहरु जस्तै यस पटक पनि मानिसहरुको दिनभर उत्तिकै भिडभाड देखिन्थ्यो । रुरुक्षेत्रलाई चारधाम मध्यको एक धाम मानिन्छ । यहाँ पुगेर गण्डकी स्नान गरी पुजाआजा गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त हुन्छन भन्ने जनविश्वास छ । त्यसै आस्था र विस्वासका कारण मकर सङ्क्रान्तिमा कालीगण्डकीमा स्नान गर्न आउने भक्तजनहरुको चाँप बढेको हो ।
रुरुक्षेत्रको रिडीमा विषेशगरि जेठी, माईली र कान्छी गरि तिन दिनसम्म मकर सङ्क्रान्ति पर्व धुमधामका साथ मनाईन्छ । कालीगण्डकी नदीमा स्नान गर्दा मानिसको मनमा शान्ति मिल्ने र रिषीकेश मन्दिरमा पूजा र्चना गर्दा भगवान शिवको आशीर्वाद प्राप्त हुन्छ भन्ने मान्यता रहेको स्थानीय सुन्दर कशजुले बताए । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थलमा रहेको रुरुक्षेत्र महत्वपूर्ण धार्मिक आस्थाको रुपमा परिचित छ ।
मकर सङ्क्रान्ति पर्वको अवशरमा रुरुक्षेत्रमा कृषि मेला प्रर्दशनीको आयोजना गरिएको छ । स्थानीय रुरुक्षेत्र गाउँपालिका, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका, कृषि ज्ञानकेन्द्र एवं प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना लगायतका संस्थाहरुको आयोजनामा कृषि प्रर्दशनी गरिएको हो । प्रर्दशनीमा कृषकहरुद्वारा उत्पादित रैथानेवाली, स्थानीय सुन्तलाजात फलफुलजात, तरकारी, खाद्यान्न तथा विउवीजन लगायतका कृषि उपजहरु राखिएको छ ।
माघ ६ गतेसम्म सञ्चालनहुने माघे सङ्क्रान्ति मेलामा विशेषगरि उनबाट बुनेका कम्मल, काम्ला, राडी, पाखी, स्वीटर लगायत बाँसको चोयाँवाट निर्मित सामग्रिहरु, ओखरका घाँजी, गुड, सुन्तला लगायत, फलामबाट निर्मित हसिया, खुकुरीका साथै गिठीको काठबाट निर्मित ठेका र मादलहरुको राम्रो व्यापारहुने गर्दछ ।
माघे सङ्क्रान्तिको दिन रुरुक्षेत्रमा आएका हजारौं मानिसहरुले तीनमुखे झोलुङ्गे पुलको अवलोकन समेत गरेका छन । कालीगण्डकी नदी माथि निर्माण गरिएको उक्त पुलको एउटा पिल्लरले गुल्मी, पाल्पा र स्याङ्जा जिल्लालाई जोडेको छ । पुलमा तस्बिर खिचाउने, सेल्फी लिने र टिकटक बनाउनेहरुको दिनभर पुलमा भिडभाड बढेको थियो । पछिल्लो समयमा आन्तरिक एवं वाह्य पर्यटकहरुका रिडीको तिनमुखे पुल मुख्य आकर्षणको केन्द्र बनेको छ । उद्योग वाणिज्य संघ रिडी शाखा, रुरु फ्रेन्डस क्लव र फ्रेन्डस क्लव रिडीको संयुक्त आयोजनामा रिडीमा छ दिनसम्म धार्मिक मेलासँगै साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ ।