सहमति जुट्न नसक्दा विद्यालय व्यवस्थापन समितिमा निर्वाचन 

admin

२०८१ माघ २४ गते, बिहीबार १८:२३ मा प्रकाशित

बाशुदेव पोखरेल

गुल्मी,२४ माघ । गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयमा पहिलो पटक विद्यालय व्यवस्थापन समिति गठनका लागि निर्वाचन सम्पन्न भएको छ। राजनीतिक दलहरूबीच सहमति नजुट्दा विद्यालयमा निर्वाचनको प्रक्रिया अपनाइएको हो।

विद्यालयका प्रधानाध्यापक चेतनारण मरासिनीका अनुसार लामो समयदेखि विद्यालय व्यवस्थापन समितिगठनबारे छलफल भए पनि दलहरूबीच सहमति हुन नसकेपछि निर्वाचनमार्फत समिति चयन गर्नुपरेको बताइएको छ ।

बिहीबार सम्पन्न निर्वाचनमा विनोद पोखरेल, विष्णु प्रसाद घिमिरे, राधा पोखरेल, र अमिता विक विजयी भएका छन्। धुर्कोट गाउँपालिका शिक्षा शाखाका प्रमुख तथा निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार चार जना निर्वाचित सदस्यहरूले थप दुई जना मनोनीत गरी छ सदस्यीय समिति बनाइनेछ । उक्त समितिले विद्यालय व्यवस्थापन समितिके अध्यक्ष चयन गर्नेछ ।

वि.सं. २०१६ सालमा स्थापना भएको पाञ्चायन माध्यमिक विद्यालयमा यसअघि समिति गठनमा निर्वाचन नभएको विद्यालयका पूर्वविद्यार्थीहरू बताउँछन्। यस पटक भएको निर्वाचनलाई स्थानीय अभिभावक तथा शिक्षासँग जोडिएका व्यक्तिहरूले लोकतान्त्रिक अभ्यासको रूपमा सकारात्मक रूपमा लिएको बताएका छन्।