३ चैत्र २०८१, सोमबार
भाषणले देश बन्दैन, समय अनुसार सबैकुरामा अपडेट जरुरी: नेता भण्डारी

रमेश विश्वकर्मा
गुल्मी, माघ २६ गते । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले भाषणले मात्र देश नबन्ने बताउनुभएको छ । शनिबार तम्घासमा नेपाली काँग्रेस रेसुङ्गा नगर कार्यसमितिको तेस्रो सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले भाषणले मात्र देशमा परिवर्तन सम्भव नभएको बताउनुभएको हो ।
गुल्मी निर्वाचन क्षेत्र नम्बर– १ बाट निर्वाचित सङ्घीय सांसद भण्डारीले नेताहरुका भाषणले नागरिकले धेरै दु:ख पाएको भन्दै भाषणबाट कुनै पनि समस्या समाधान नहुने बताउनुभयो । बितेका ३४ वर्ष जनताको कुरा संसदमा नउठेको भन्दै अहिले जनताका कुरा आफुले संसदमा उठाउँदै आएको दाबी गर्नुभयो ।
समयको परिवर्तनसंगै अहिलेको प्रविधि अनुसार राजनीतिक दल र नेताहरु अपडेट हुन जरुरी रहेको भन्दै उहाँले जनताका हरेक कुरालाई सम्बोधन गर्ने गरी सबै लाग्नुपर्ने बताउनुभयो । देशको परिवर्तनका लागि प्रविधिलाई विशेष ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । अहिले देशका युवाहरु विदेश पलायन भइरहेको भन्दै नेता भण्डारीले स्वदेशमा युवालाई रोक्ने कार्यक्रमहरु सरकारले ल्याउन जरुरी रहेको बताउनुभयो ।
देशमा खराब काम गर्नेहरु पनि देखिएको हुँदा खराब काम गर्ने कसैलाई पनि छुट नभएको उहाँले बताउनुभयो । राजनीतिक दलका नेताहरुले जनताको हितमा काम गर्नुपर्ने भन्दै पुराना पुस्ताले बोकेका राम्रा कुराको अनुसरण गर्न सबै लाग्नुपर्ने बताउनुभयो । अहिले प्रविधिले एआईसम्म पुर्याउँदा जनताहरु भने औषधि, गतिलो शिक्षा र गरिबीसँग जुध्नु परेको भन्दै सीमान्तकृत वर्गलाई दुई लाख श्रममा आधारित शेयर दिनुपर्छ भनेर संसदमा आफूले आवाज उठाएको उहाँले बताउनुभयो ।
नेता भण्डारीले गुल्मी जिल्लाले विचार दृष्टिकोणका आधारमा जिल्लाले नेतृत्व गरिरहेको भन्दै रेसुङ्गाको महिमाका विषयमा समेत चर्चा गर्नुभयो । हालै रेसुङ्गा भाडगाउँमा यहाँका युवाहरुले सञ्चालन गरेको रेसुङ्गा जल उद्योगको प्रशंसा गर्दै रेसुङ्गाको जल आफैमा अमृत भएकाले यसको विस्तार बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनको उद्घाटन कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र बहादुर केसी, लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ, जिल्ला सभापति खिलध्वज पन्थी, जिल्ला सचिव भगतसिंह खड्क, महासमिति सदस्य श्रीप्रसाद भलामी, क्षेत्रीय सभापतिद्वय पारिश्वर ढकाल र चन्द्र बहादुर महत, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।