३ चैत्र २०८१, सोमबार
पोषण सुधारका लागि रेसुंगा होमस्टेमा छ लाख भन्दा बढीका कुखुरा बितरण

जनार्दन घिमिरे
गुल्मी, २१ फागुन । गुल्मीको रेसुंगा नगरपालिका –१३ अन्र्तगत भँगारीमा छ लाख ६० हजार मूल्य बराबरका स्थानीय जातका कुखुराहरु बितरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र गुल्मीले पोषण सुधारका लागि ग्रामिण कुखुरा पालन कार्यक्रम अन्र्तगत भँगारी स्थीत रेसुंगा होमस्टेमा स्थानीयहरुलाई उक्त कुखुरा बितरण गरिएको हो ।
ग्रामिण क्षेत्रमा स्थानीयहरुलाई रोजगारी सृजना गर्ने, पोषणमा सुधार ल्याउने र रेसुंगा होमस्टेमा आउने पाहुनाहरुलाई स्थानीय स्वाद चखाउने उद्देश्यले उक्त कुखुराहरु बितरण गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र गुल्मीका प्रमुख एवं बरिष्ट पशु विकास अधिकृत हुमकान्त पाण्डेले जानकारी दिनुभएको छ ।
कार्यक्रममा रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले यस कार्यक्रमबाट ग्रामिण क्षेत्रका महिलाहरुलाई जीविको पार्जनकासँगै आयआर्जन बढाउनका साथै पोषणमा सुधार ल्याउन महत्वपूर्ण सहयोग पुराउने विश्वास व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नगर उपप्रमुख कुँवरसँगै वडाध्यक्ष हुमबहादुर बस्नेत वडा सदस्यहरु यज्ञमूर्ति थापा श्रीस, कमला धुरेल लगायतले स्थानीयहरुलाई निशुल्क रुपमा कार्यालयको तर्फबाट बितरण गरिएका कुखुराहरु हस्तान्तरण गर्नु भएको थियो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र गुल्मीेद्वारा प्रदेश सरकारको स्वामित्वमा रहेको कुखुरा विकास फार्म नेपालगञ्जबाट ल्याएका कुखुराहरु सहित औषधी तथा कुखुरालाई चाहिने आवश्यक भिटामिनका साथै दाना र पानी खुवाउने भाँडा समेत किसानहरुलाई उपलब्ध गराईएको थियो । रेसुंगा होमस्टेमा रहेका २५ जना किसानहरुलाई प्रति घर ५० वटाका दरले १२ सय ५० वटा कुखुराहरु बितरण गरिएको हो ।
सदरमुकाम तम्घास नजिकै रहेको रेसुंगा होमस्टेमा आन्तरिक एवं वाह्य पर्यटकहरुलाई भित्राइ रेसुंगा नगरपालिकामा पर्यटन प्रर्बद्धन गर्नका लागि उक्त कार्यक्रम थप प्रभावकारीहुने उपप्रमुख कुँवरले बताउनु भएको छ । होम स्टेमा पर्यटकहरुले रैथाने खानाका परिकारहरुसँगै अब जुनसुकै समयमा पनि लोकल कुखुराको अर्गानिक स्वाद चाख्न पाउने भएका छन ।