गुल्मीमा राष्ट्रिय अनुसन्धान कार्यालयको भवन निर्माण  

admin

२०८१ चैत्र २० गते, बिहीबार २२:५८ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, २१ चैत । गुल्मीमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको नयाँ भवन निर्माण भएकोे छ । संघीय सरकारको दुई करोड तीन लाख रुपैयाँको लागतमा सदरमुकाम तम्घासमा नयाँ सुबिधा सम्पन्न भवन निर्माण गरिएको हो ।

नवनिर्मित कार्यालय भवनको बिहिबार राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले उद्घघाटन गर्नु भएको थियो । भवन निर्माणको लागि जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय अनुसन्धान कार्यालयलाई २०७८ सालमा चार आना जग्गा प्राप्त भएको थियो । जोग्मा एण्ड डिएन्डी जेभीद्वारा सम्झौता भएको १५ महिनामा भवन निर्माण सम्पन्न गरिएको हो ।

भवनको अभावमा यस अघि जिल्ला प्रशासन कार्यालयको एउटा कोठामा कार्यालय स्थापना गरि कार्य सम्पादन हुँदै आएको थियो । तीन तला रहेको उक्त कार्यालय भवनमा आवास सहित, कार्यालय, गार्ड रुम, अतिथि निवास सहित १४ कोठाहरु रहेको कार्यालय प्रमुख एवं वरिष्ठ अनुसन्धान अधिकृत विनय कुमार चतुुर्वेदीले बताउनु भयो ।

भवन निर्माणको लागि सघन सहरी भवन निर्माण आयोजनाको प्राबिधिक सहयोग गरेको थियो । भवन निर्माणको लागि २०८० जेठ २९ गते बोलपत्र आह्वान भएकोे थियो । सो भवनको राष्ट्रिय अनुसन्धान कार्यालय लुम्बिनी प्रदेशका प्रमुख निर्देशक ओम बहादुर खड्काले शिलन्यास गर्नु भएको थियो ।

भवन उद्घाटन कार्यक्रममा अनुसन्धान निर्देशक थापाद्वारा समयमै भवनको निर्माण सम्पन्न गरेको भन्दै निर्माण व्यावसायी भोजप्रसाद श्रेष्ठ सहित सहजीकरण गर्ने विभिन्न संस्था एवं व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।