गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित 

admin

२०८१ चैत्र २१ गते, शुक्रबार २१:०९ मा प्रकाशित

गुल्मी, २२ चैत । गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा मृगेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । शुक्रबार सदरमुकाम तम्घासमा सम्पन्न निर्वाचनमा श्रेष्ठले ३ सय २१ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित बनेको निर्वाचन अधिकृत बिष्णुप्रसाद बलालले जानकारी दिनुभएको छ । श्रेष्ठका प्रतिस्पर्धी रामप्रसाद पन्थीले २ सय १ मत ल्याई पराजित हुनुभएको छ ।

अध्यक्ष पदका लागि मात्र भएको निर्वाचनमा काँग्रेस निकट व्यवसायीहरु मृगेन्द्रप्रसाद श्रेष्ठ र रामप्रसाद पन्थी चुनावी प्रतिस्पर्धामा उत्रनु भएको थियो । कुल ५ सय ८५ मतदाता रहेको गुल्मी उद्योग वाणिज्य संघमा शुक्रबार भएको निर्वाचनमा ५ सय ३५ मत खसेको थियो । अध्यक्षका लागि मतदान भए पनि अन्य सम्पूर्ण पदहरु भने निर्विरोध भएको थियो ।

गुल्मी उद्योग वाणिज्य संघको उपाध्यक्षमा इश्वरीप्रसाद बेल्वासे, गोपालप्रसाद भुसाल, ताराप्रसाद भुसाल, महासचिवमा चेतनारायण पाण्डे, सचिवमा बिष्णुप्रसाद अधिकारी, कोषाध्यक्षमा इश्वरी कँडेल र सहकोषाध्यक्षमा कृष्ण खनाल निर्बिरोध निर्वाचित बन्नु भएको छ ।

त्यसैगरी सदस्यहरूमा महेशकुमार राजभण्डारी, बादल श्रेष्ठ, तोमलाल पन्थी, ज्ञानबहादुर भलामी, किशोरप्रसाद मरासिनी, रामु सुनार, चन्द्रमणी भण्डारी, चन्द्रमणी पाण्डे, कमला श्रेष्ठ र शशी केसी रहनु भएको छ ।

गुल्मी उद्योग वाणिज्य संघको चैत ८ गते रेसुङ्गामा ३३ औं साधारणसभा सम्पन्न भएको थियो । साधारण सभापछि चैत नौं गते अधिवेशन गर्ने तयारी भएपनि सहमती जुटाउनका लागि भन्दै अधिवेशन सारिएको थियो । तर सहमती जुट्न नसकेपछि दुवै उपाध्यक्षहरु श्रेष्ठ र पन्थी बीच चुनावी प्रतिस्पर्धा भएको हो ।

नेकपा एमाले निकट व्यावसायीहरुले २०७६ मा गुल्मी उद्योग वाणिज्य संघबाट अलग बनेर चेम्बर अफ कमर्शको शाखा स्थापना गरेपछि संघमा अहिले अधिकांश काँग्रेस निकट व्यावसायीहरु रहेका छन ।