८ बैशाख २०८२, सोमबार
गुल्मीको तम्घास–रिडी सडक एक महिनाका लागि बन्द हुने

गुल्मी, २३ चैत । मदन भण्डारी राजमार्ग अन्तरगत निर्माणाधिन गुल्मीको तम्घास–रिडी सडक एक महिनाको लागि बन्द हुने भएको छ । उक्त सडकमा रुरुक्षेत्र गाउँपालिका अन्तरगत ठुलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्ने र ग्रेट मिलाउने कार्यका लागि एक महिनासम्म सडक बन्दहुने मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका प्रमुख ईन्जीनियर रमेश चौधरीले जानकारी दिनुभएको छ ।
सडक निर्माणका लागि निर्माण व्यवसायीबाट माग भए अनुसार चैत २३ देखि बैसाख २२ गतेसम्म सवारी साधनहरु पुर्ण रुपमा बन्द गरिने ईन्जीनियर चौधरीले बताउनु भयो । तम्घास–रिडी सडक बन्द भए पनि सवारी साधनहरुलाई बैकल्पीक सडकको प्रयोग गर्ने व्यवस्था मिलाईएको उहाँले बताउनु भयो ।
बैकल्पीक सडकहरुमा रुरुक्षेत्रको पानीटंकी थोर्गा, स्यालपोखरी, स्याल बिसौनादेखि रातामाटा सडकहुँदै रिडी, छत्रकोटको पिपलनेटा दिगामहुँदै रिडी, लुम्छा धरमपानी दिगामहुँदै रिडी र गुल्मीदरबारको घुम्टी चारपाला खज्र्याङ्हुँदै रिडी सडक रहेका छन ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले रुरुक्षेत्र गाउँपालिका लगायत सर्वसाधरणमा सार्वजनिक रुपमा सूचना समेत जारी गरेको छ । सडक सुचारु गरी काम गर्दा यात्रु र सवारी साधनहरुमा जोखिम हुनसक्ने भन्दै निर्माण व्यवसायीको माग अनुसार एक महिनाका लागि बैकल्पीक सडकको प्रयोग गर्ने गरि उक्त सडक पुर्ण रुपमा बन्द हुने भएको कार्यालय प्रमुख चौधरीले बताउनु भयो ।
मदन भण्डारी राजमार्ग योजना कार्यालयले आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा स्थानीय पालीकाहरुलाई समेत आग्रह गरेको जनाएको छ ।
त्यसैगरी सडक पुर्वाधार विकास कार्यालय गुल्मीले पनि सडक स्तरोन्नती कार्यका लागि गुल्मीदरबार गाउँपालिका –२ अन्तरगत झिरबासदेखि काभ्रे पोखरीसम्मको सडक खण्ड दुइ साताका लागि पूर्ण रुपमा बन्द गरेको छ । उक्त सडक अन्तरगत झिरबास क्षेत्रमा आरसिसि ढलान गरी सडक स्तरोन्नती गर्ने काम शुरु भएपछि यात्रुहरुलाई बैकल्पीक सडकको व्यवस्था मिलाएको छ ।
बैकल्पीक सडकहरुमा जुभुङ्–सिस्ने–भट्टेचौरदेखि बिरवास सडक र मजुवा–बलिथुम–झिरबास सडक रहेका छन ।