गुल्मीमा हराएको दुइ महिनापछि कुकुरले पुरूषको कङ्काल फेला पार्र्यो 

admin

२०८१ चैत्र २५ गते, मंगलवार १९:१२ मा प्रकाशित

गुल्मी, २६ चैत । गुल्मीमा एक जना पुरुषको कङ्काल फेला परेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर–६ बेलपोखरा स्थीत ५५ वर्षीय रतन शाहीको कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारि दिनुभएको छ ।

शाही घरबाट हराएको करिब साढे दुई महिनापछि शाहीको कंकाल फेला परेको हो । शाहीको टाउको कङ्काल कुकुरले लिएर हिँडेको अबस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय र प्रहरीले खोज्दै जाँदा स्थानीय कालिका सामुदायिक जङ्गलमा कङ्काल सहित शाहीले लगाएको कपडा फेला परेको प्रहरीले जनाएको छ । शाही घरमा एक्लै बस्दै आउनु भएको थियो ।

घाँस काट्ने क्रममा लडेर शाहीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक भुपेन्द्र थापाको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।