गुल्मी जिल्ला समाज युकेद्वारा मृगौला पीडितलाई चार लाख भन्दा बढीको सहयोग

admin

२०८१ चैत्र २६ गते, बुधबार १८:०० मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, २७ चैत । मृगौला पीडित गुल्मी चन्द्रकोटकी एक महिलालाई गुल्मी जिल्ला समाज युकेले चार लाख १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । दुबै मृगौलाबाट पीडित हुनुभएकी जिल्लाको चन्द्रकोट गाउँपालिका –४ शान्तिपुरकी कमला थापामगर खत्रीलाई समाजको तर्फबाट उक्त रकम सहयोग गरिएको हो ।

गुल्मी जिल्ला समाजको आव्हानमा वेलायतमा सङ्कलन गरिएको उक्त रकम काठमाण्डौमा उपचारत पीडितलाई हस्तान्तरण गरिएको सहयोग सङ्कलन संयोजक एवं समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउछाले जानकारी दिनुभएको छ ।

दुवै मृगौला फेल भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या उत्पन्न भएपछि उहाँको परिवारको आग्रहमा कमला बचाउँ अभियान सञ्चालन गरी समाजको तर्फबाट वेलायतमा आर्थिक रकम सङ्कलन गरिएको थियो ।

बिरामी बनेपछि उहाँको मेरुदण्डमा समेत समस्या देखिएका कारण कमलाको कम्मरभन्दा तलको भाग चल्दैन । शुरु शुरुमा उपचारका लागि परिवारबाट सक्दो प्रयास गरेपनि उहाँको उपचार निकै खर्चिलो भएपछि परिवारले सहयोगका लागि समाजसँग आग्रह गरेको संयोजक थापाले बताउनु भयो ।

गुल्मी जिल्ला समाज युकेको तर्फबाट समाजका अध्यक्ष रुद्र थापा, महासचिव महलाल घिमिरे तथा कार्यसमितिको तर्फबाट सहयोगदातालाई उपचारमा सहयोग गर्न आग्रह गरिएको थियो । समाजले पठाएको उक्त रकम समाजको तर्फबाट रुपा राना र पिन्की रानालाई काठमाण्डौमा उपचाररत पीडितसँग पुगेर उहाँकै हातमा चेक मार्फत रकम उपलब्ध गराईएको थियो । रकम प्राप्त गरेपछि कमलाले अब आफुलाई बाच्ने आशा पलाएको भन्दै सहयोग गर्नेहरुलाई मनैदेखि आभार व्यक्त गरेको बताउनु भयो ।

‘सेवा नै पुण्य धर्म हो‘ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्र्र्दै गुल्मी जिल्ला समाजले आफ्नो स्थापनादेखि जिल्ला र जिल्ला बाहिर समेत शिक्षा, स्वास्थ्य तथा विभिन्न विभिन्न जन्य प्रकोपहरुमा व्यक्ति एवं संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

गुल्मी जिल्ला समाज युकेले शुरु गरेको सहयोग सङ्कलन अभियानका ७६ जना व्यक्तिहरु जोडिनु भएको छ । सहयोग सङ्कलन अभियानका संयोजक थापा काउछाले मनैदेखि हयोग गर्ने सबैलाई समाजको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको छ ।