८ जेष्ठ २०८२, बुधबार
गुल्मीदरबार बन्यो जिल्लामा आधारभूत अस्पताल सञ्चालन गर्ने पहिलो पालिका

गुल्मी, २२ वैशाख । गुल्मीदरबार गाउँपालिकाले १५ शैयाको आधारभुत अस्पताल सञ्चालनमा आएको छ । जिल्लामा १५ शैयाको अस्पताल सञ्चालन गर्ने गुल्मीदरबार जिल्लामै पहिलो स्थानीय तह बनेको छ ।
संघीय सरकारको वजेटमा निर्माण भएको अस्पताल स्थानीय तहलाई हस्तान्तरण गरेपछि पालिकाले अस्पताल सञ्चालनमा ल्याएको हो । उक्त अस्पताल संघिय सरकारको रु १३ करोड ६८ लाख लागतमा निर्माण सम्पन्न भएको हो । २०७८ असार २५ गते बिकोई अर्जुन न्युलिजा गुल्मीले अस्पताल निर्माणको जिम्मा लिएको थियो । अस्पताल निर्माण कार्य समयमा सम्पन्न भएपनि पालिकाले आर्थिक स्रोतको अभावमा करिब दुइ वर्षपछि मात्र अस्पताल सञ्चालनमा ल्याएको हो ।
आधारभूत अस्पतालको सोमबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गर्नु भएको थियो । मन्त्री कार्कीले प्रदेश सरकारले जिल्लामा निर्माण भएका आधारभूत अस्पतालका लागि ठूलो जनशक्ति चाहिने भन्दै त्यसका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रममा केही योजना बनाउने बताउनु भयो । उहाँले पालिकाको आयस्रोत कमजोर भएको र प्रदेशको बजेट पनि कमजोर भएको भन्दै त्यसकालािग पालिका र प्रदेश सरकारले समन्वय गरेर अघि बढ्ने बताउनु भयो । उहाँले अस्पताल निर्माण भएसँगै कुनै पनि नागरिक स्वास्थ्यको पहुँच भन्दा बाहिर नजाने र गाउँमै सहज र सरल रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
आधारभूत अस्पतालका लागि तीन जना एमबीबीएस डाक्टर सहित ३२ जनाको दरबन्दी भए पनि गाउँपालिकाले आफ्नै पहलमा एक जना एमबीबीएस डाक्टर सहित १२ जना स्वास्थ्यकर्मी परिचालन गरि अस्पतालमा सेवा सञ्चालनमा ल्याएको हो । जिल्लामा निर्माण शुरु गरिएका र सम्पन्न भएका अस्पतालहरु मध्य सबै भन्दा ठूलो संरचना र सबै भन्दा पहिले अस्पताल सञ्चालनमा याई सेवा सुचारु गर्ने गुल्मीको पहिलो पालिका भएको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताउनु भयो ।
अस्पताल निर्माण भएपछि स्थानीयको स्वास्थ्यमा पहुँच बढ्नुका साथै गाउँमै राम्रो स्वास्थ्य सुविधा पाउने भएपछि त्यस क्षेत्रका नागरिक पनि खुसी भएका छन् । अस्पताल सञ्चालनमा आएपनि स्थानीय तहमा त्यसको सञ्चालनका लागि आवश्यक स्रोत साधन नहुँदा पालिकालाई थप व्ययभार बढ्ने होकी भन्ने चिन्ता थपिएको अध्यक्ष थापाले बताउनु भयो । आधारभूत अस्पतालमा दैनिक २४ सै घण्टा दक्ष चिकित्सकहरुबाट निशुल्क रुपमा बिरामीहरुको चेकजाँच, निशुल्क रुपमा प्रसुती सेवा, सहुलियत दरमा प्रयोगशाला सेवा लगायतका अस्पतालबाट उपलब्धहुने सबै प्रकारका सेवाहरु प्रवाह गरिने स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिनुभएको छ ।
जिल्लामा निर्माण शुरु गरिएका आधारभूत अस्पतालहरु मध्य सान्तिपुरमा अस्पताल निर्माणको काम सम्पन्न भए पनि सेवा सञ्चालनमा आईसकेको छैन भने अन्य पालिकाहरुमा भने निर्माणाधिन अबस्था रहेका छन । समयमै अस्पताल निर्माण सम्पन्न गरेपनि पालिकाबाट अझै ७४ लाख रुपैंया रकम भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यावसायी विजय खनालले बताउनु भयो ।