८ जेष्ठ २०८२, बुधबार
गुल्मीदरबार गाउँपालिकामा कपडा बैंक स्थापना

गुल्मी, २३ बैशाख । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा कपडा बैंक स्थापना गरिएको छ । गुल्मीदरबार गाउँपालिका र कपडा बैंकसँगको लागत साझेदारीमा कपडा बैंक स्थापना गरिएको गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले बताउनु भएको छ ।
उक्त कपडा बैंकको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा मन्त्री कार्कीले आफुहरुसँग भएका वस्तुहरूलाई प्रयोगमा ल्याउन नजान्दा आर्थिक उन्नतिमा पछाडि परेको बताउँदै कपडा बैंकको स्थापनाले प्रयोगमा नआएका कपडाहरू पनि पुनः प्रयोगमा आउने र त्यसले असहाय तथा विपन्न व्यक्तिलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले पालिका भित्र रहेका काम नलाग्ने कपडाहरुलाई प्रशोधित गरि पुनः प्रयोगमा ल्याउने कार्यमा सहयोग गरेको भन्दै कपडा बैंकका संस्थापकहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । सोही कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले पालिकामा स्थापना गरिएको कपडा बैंकबाट विपन्न नागरिकहरूलाई सहज पुग्ने बताउनु भएको छ ।
आफ्नो घर टोल र समाजलाई सफा राखौं, कोही कपडा विहिन नरहुन् भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै अन्य पालिकाहरुमा जस्तै गुल्मीदरबार गाउँपालिकामा पनि कपडा बैंकको स्थापना गरिएको कपडा बैंकका अध्यक्ष कमला जिसिले बताउनु भयो । जिसीले प्रयोगमा नआएका कपडाहरु पुनः प्रशोधन गरेर संस्थाको तर्फबाट आवश्यक पर्नेहरूलाई निशुल्क रुपमा बितरण गरिदैं आएको जानकारी दिनुभयो ।
२०८१ सालमा स्थापना गरिएको कपडा बैंक अहिले देशभरका १६० भन्दा बढि स्थानीयतहमा पुगेको बताईएको छ । महानायक राजेश हमाल संरक्षक रहेकोे उक्त कपडा बैंकले प्रयोगमा नआएका कपडाहरूलाई पुनःप्रशोधन गरेर बितरण गर्दैै आइरहेको छ । गुल्मीमा यस अघि चन्द्रकोट, ईस्मा र छत्रकोट गाउँपालिकामा उक्त कपडा बैैंक स्थापना भैसकेको छ ।