८ जेष्ठ २०८२, बुधबार
पत्रकार महासंघ गुल्मीको स्थापना दिवसमा रक्त समूह पहिचान

गुल्मी, २६ वैशाख । नेपाल पत्रकार महासंघ गुल्मी शाखाले सदरमुकाम तम्घासमा विविध कार्यक्रम गरि आफ्नो २१औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्नुका अतिरिक्त सञ्चारकर्मीहरूको रक्त समूह पहिचान कार्यक्रम आयोजना गरिएको हो ।
गुल्मी अस्पतालमा आउने बिरामीहरूलाई आवश्यक पर्ने रगत उपलब्ध गराउने उद्देश्यले स्थापना दिवसको अवशरमा जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरिएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष अनिल खत्रीले बताउनु भयो । गुल्मी अस्पतालको प्राविधिक सहयोगमा २५ जना सञ्चारकर्मीहरूको रक्त समूह परीक्षण गरिएको थियो ।
स्थापनाको स्मरण गर्दै महासंघका पुर्व अध्यक्ष हरिकुमार श्रेष्ठले २०६१ सालमा स्थापना भएकोे संगठन अहिले आफ्नै भवनसम्म आइपुगेकोमा खुसी व्यक्त गर्दै संस्थालाई यहाँसम्म ल्याउन योगदान दिने सम्पूर्ण व्यक्तिहरूप्रति आभार प्रकट गर्नु भएको थियो । उहाँले आगामी दिनमा महासंघले थप रचनात्मक भूमिकाले काम गर्न आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष जनार्दन घिमिरेले स्थापना दिवस सबै सञ्चारकर्मीहरुको लागि गर्व र उत्सवको दिन भएको बताउनु भएको थियो । उहाँले जिल्लामा पत्रकार महासंघको शाखा स्थापना अघि पत्रकारिताको अवस्था, भोगाई र चुनौतीहरूको स्मरण गर्दै नयाँ पुस्ताले नेपाली पत्रकारितालाई जिम्मेबारीपूर्वक अझ शसक्त बनाउँदै लैजानु पर्ने सुझाव व्यक्त गर्नु भयो ।
६५ जना पत्रकारहरु रहेको पत्रकार महासंघ गुल्मीमा शुद्धिकरण अभियानपछि हाल २५ जना मात्र साधारण सदस्य छन् । महासंघले पत्रकारहरूको हकहितका साथै समाजमा विभिन्न रचनात्मक कार्य गर्दै आएको छ । कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष अनिल खत्रीले आगामी दिनमा महासंघको पहिचान र गरिमा अझ मजबुत बनाउन हालको कार्यसमिति प्रतिबद्ध रहेको बताउनु भयो ।