२ चैत्र २०८२, सोमबार
स्थानीय तहमा सञ्चालित पकेट विकास कार्यक्रमको प्रगति समिक्षा
रेसुंगा सामाचारदाता गुल्मी, २७ जेठ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाई गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा प्रगति समिक्षा तथा रिपोर्टिङ् कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय तहबाट सञ्चालित पकेट विकास कार्यक्रम अन्तरगत कार्यालय र पालिकाले गरेका कामहरुको बारेमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्थानीय तहका कृषि प्राविधिकहरुद्वारा आआफ्ना पालिकामा भए गरेका विभिन्न पकेट क्षेत्र—फलफूल, तरकारी, पशुपालन, कफी लगायतका कार्यक्रमहरुको हालसम्मको प्रगति बिबरण प्रस्तुत गरिएको थियो । कृषि प्राविधिकहरुद्वारा स्थानीय तहहरूबाट सञ्चालित कार्यक्रम मार्फत उत्पादनमा वृद्धि, किसानको आयस्तरमा सुधार र युवा लक्षित कृषि उद्यम प्रवद्र्धन लगायतका विषयमा प्रस्तुतिकरण गरिएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन एकाई गुल्मीका प्रमुख रमेश जैसवालले पकेट कार्यक्रमले जिल्लामा व्यावसायिक कृषि विस्तारमा टेवा पुगेको बताउनु भयो । उहाँले आगामी दिनमा कार्यक्रमलाई एकरुपता बनाउनका लागि स्थानीय तहहरूसँग समन्वय र सहकार्य गर्दै अघि बढ्नु पर्ने धारणा व्यक्त गर्नु भयो । सोही कार्यक्रममा कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नरेश घितालले कार्यालय र स्थानीय तहका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको भन्दै आगामी दिनमा यसलाई अझै प्रभावकारी बनाउँदै अघि बढ्नुपर्ने बताउनु भयो । कार्यक्रममा स्थानीय तहका कृषि प्राविधिकहरुले अलैची, माहुरी, चक्लाबन्दी, सुन्तलाजातका फलफुल, आलु, कफी, तरकारी तथा रैथानेवाली लगायत पकेट विकास कार्यक्रमलाई थप प्रभावकारी, नतिजामुखी र किसानमैत्री बनाउदै लैजानुपर्नेमा जोड दिएका थिए ।

