४ बैशाख २०८३, शुक्रबार
गुल्मीदरबारमा नीति तथा कार्यक्रमको लागि सुझाव संकलन
रेसुंगा समाचारदाता गुल्मी, ३ असार । गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमका लागि सरोकारहरुसँग राय सुझाव संकलन गरेको छ । गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यले उक्त सुझाव संकलन गरेको हो ।
गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न वडाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षक, महिला, युवा, कृषक, व्यापारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले स्थानीय आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, रोजगार, महिला सशक्तिकरण, युवामैत्री कार्यक्रम, संस्कृति तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन लगायतका विषयमा आआफ्नो तर्फबाट महत्वपूर्ण सुझावहरू राख्नु भएको थियो ।
त्यसका अतिरिक्त सुझाबकर्ताहरुबाट जेष्ठ नागरिकहरुका लागि वडा तहमा दिवा सेवा केन्द्र स्थापना, मुख्य बजार क्षेत्रमा हाटबजार, जनशक्ति अनुसार रोजगारीको व्यवस्था, बाँझो जमिन राख्नेलाई कर, वसाईसराई नियन्त्रण, क्षमता विकास, वन्यजन्तुहरुबाट भएको आहात लगायत विभिन्न विषयमा सुझाव प्रदान गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले अब भौतिक विकाससँगै चेतनाको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले नागरिकहरुको तर्फबाट आएका महत्वपूर्ण सुझावलाई बजेट निर्माणको क्रममा समेट्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । थापाले नीति तथा कार्यक्रम बनाउँदा नागरिकको आवाज सुन्नु र तिनलाई समेट्नु लोकतान्त्रिक अभ्यासको मुख्य कडी भएको भन्दै नागरिकको सुझाबलाई समेटेर नीति तथा योजना निर्माण गरिने बताउनु भएको थियो । सुझाव संकलन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थापा ढेँगा र प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले नागरिक स्तरबाट आएका सबै सुझावहरूलाई समेटेर योजना तर्जुमा गरिने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

