गुल्मीमा कार्यक्रमका अतिथिहरुले बसाले नयाँ परम्परा 

admin

२०८२ असार १४ गते, शनिबार १४:४४ मा प्रकाशित

गुल्मी, १४ असार । कार्यक्रममा जाँदा सधै आयोजकहरुले अतिथिहरुलाई टिका, माला र खादाद्वारा सम्मान गर्ने प्रचलन हाम्रो समाजमा कुनै नौलो विषय हैन । अतिथिहरु पनि आयोजकहरुले लगाई दिएका खादा र मालाको भारीसँगै रमाउँदै घण्टौंसम्म कार्यक्रममा बसिरहने प्रचलन यद्यपी बिद्यमान छ । तर गुल्मीमा भने पहिलो पटक त्यस्तो प्रकारको परम्परालाई टोडेर अतिथिहरुले आयोजकलाई उल्टै त्यही टिका र माला लगाई दिएर नयाँ परम्पराको सुरुवात गरेका छन ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले आयोजना गरेको उन्नत प्रबिधियुक्त बाख्रा खोर निर्माण कार्यक्रम अन्तरगत ईस्मा गाउँपालिका वडा नं १ र २ का सुनभद्र बहुउद्देश्यीय कृषक समूहका कृषकहरुलाई जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण बहादुर खत्रीले अतिथिहरुलाई लगाईदिन राखेको टिका र माला उनै कृषकहरुलाई लगाईदिएर सम्मान गर्नु भएको छ ।

आयोजकले अतिथिहरुलाई सत्कार गर्नु भन्दा पहिले अतिथिहरुले नै आयोजकलाई मञ्चमा बोलाएर यसरी सम्मान गरेको देख्दा स्थानीयहरु पनि दंग परेका छन । जिल्ला समन्वय समिति प्रमुख खत्रीले उन्नत प्रबिधियुक्त बाख्रा खोर निर्माण कार्यक्रममा स्थानीय कृषकहरुले गरेको महेनत हेर्दा आफुहरु निकै प्रभावित बनेको बताउनु भएको थियो ।

त्यस क्षेत्रका कृषकहरुले परियोजनाबाट बाख्राको खोर निर्माणका लागि भनेर एकमुष्ट ९५ हजार रुपैयाँ उपलब्ध गराएको थियो । तर कृषकहरु आफुले एक–एक लाख रुपैयाँ थप गरेर कुल एक लाख ९० हजार लागतमा बाख्राको लागि नमूना खोर निर्माण गरेका हुन ।

स्थानीय सुनभद्र बहुउद्देश्यीय कृषक समूहबाट ६ वटा खोर निर्माणका लागि ५ लाख ७० हजार रुपैयाँ परियोजना मार्फत उपलब्ध गराईएको कार्यालय प्रमुख एवं बरिष्ट कृषि अधिकृत रमेश जैसवालले बतनाउनु भयो । परियोजना मार्फत ईस्मा गाउँपालिकामा यस आर्थिक वर्षमा मात्र दश वटा खोर निर्माण गरिएको छ ।

कार्यक्रममा रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवर, ईस्मा गाउँपालिका अध्यक्ष भगतसिंङ खड्का, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, लगायत विभिन्न कार्यालय तथा संघसंस्थाका प्रतिनिधिहरुद्वारा ईस्मासँगै रेसुङ्गा नगरपालिका –३ अन्तरगत गुठीमा सञ्चालन गरिएको चक्लाबन्दी कार्यक्रमको पनि अनुगमन गरिएको थियो ।