गुल्मीबाट सम्पर्कमा आएका सात जना कर्मचारी आजै रोल्पा फर्किए   

admin

२०८२ असार २६ गते, बिहीबार २०:५३ मा प्रकाशित

रेसुंगा समाचारदाता

गुल्मी २६ असार । बिहीबार बिहान गुल्मीबाट सम्पर्कमा आएका रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय सहित सात जना कर्मचारीहरु आजै रोल्पा फर्किएका छन । गुल्मी आईपुगेपछि प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर सहितको टोलीले बिहिबार बिहान गुल्मीको सदरमुकाम तम्घासबाट थबाङ गाउँपालिकाका अध्यक्ष ऋषि केशव बुढा मगरलाई फोन गरेर आफुहरु गुल्मीमा रहेको जानकारी गराएका हुन ।

उनीहरु बिहीबार बिहान आफै जिल्ला प्रहरी कार्यालय गुल्मीको सम्पर्कमा पुगेका थिए । उनीहरु बुधबार बेलुकी ७ वजेको समयमा सदरमुका तम्घास आएर होटल निलगिरीमा बास बसेका हुन । बिहान प्रहरीको सम्पर्कमा पुगेपछि उनीहरुले प्रहरी प्रमुखसँग कार्यालयमा इन्टरनेटले काम नगरेको र आफुहरुलाई जनप्रतिधिले अनावश्यक भुक्तानीका लागि दवाव दिने गरेको बताएका थिए ।

बुधबार बेलुकी होटलमा पुगेपछि उनीहरुले होटल मालिकलाई ईन्टरनेट चल्छकी चल्दैन भनेर सोध्नुका साथै हामीलाई लाईन रेगुलर हुनुपर्छ भनेको होटल सञ्चालक पुष्प पन्थीले बताउनु भयो । “खै के काम गर्दै हुनुहुन्थ्यो त्यो त थाहा भएन, राती बाहिर वत्ती बलिरहेको हुँदा उठेर हेर्छु भन्दा उहाँहरु राती अबेरसम्म पनि ल्यापटपमा बसेर कामगर्दै हुनुहुन्थ्यो,” होटल सञ्चालक पन्थीले भन्नु भयो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको सम्पर्कमा आएपछि उनीहरु थबाङ गाउँपालिका अध्यक्ष सहित प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फोन गरेर आफुहरु गुल्मी आईपुगेको र सकुशल रहेको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक नारायण प्रसाद अधिकारीले बताउनु भएको छ । प्रहरी उपरिक्षक अधिकारीका अनुसार उक्त टोली बिहीबार बिहान १० बजे अर्घाखाँचीको सन्धिखर्कहुँदै रोल्पा हिडेका थिए । रोल्पा पुगेपछि उनीहरुले प्रमुख जिल्ला अधिकरीलाई भेट गरेपछि मात्र गाउँपालिका फर्किने बताएका हुन ।

उनीहरु रोल्पामा नेपाल टेलीकमको नेटवर्कको समस्याका कारण कार्यालयको कामकाज गर्न सहजताका लागि भन्दै तीन दिन अघि रुकुम पुर्व गएको बताईएको छ । तर त्यहाँ पुगे पनि उनीहरुसँग सम्पर्कहुन नसकेपछि थबाङ गाउँपालिका अध्यक्षले विज्ञप्ती जारी गर्दै कर्मचारीहरुलाई सम्पर्कमा आउन र कही कतै देखेमा जानकारी गराईदिन आग्रह गर्नु भएको थियो ।