२८ चैत्र २०८२, शनिबार
महासंघ गुल्मीले पत्रकारका लागि सुत्केरी प्रोत्साहन उपलब्ध गराउने
रेसुंगा समाचारदाता
गुल्मी, ९ साउन । नेपाल पत्रकार महासंघ गुल्मी शाखाले आफ्ना सदस्यहरूको लागि सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम अन्तर्गत महासंघमा आवद्ध सदस्यहरूको सन्तान वृद्धि (शिशु जन्म) भएको अवसरमा पाँच हजार रुपैयाँ बराबरको पोषण सामग्री प्रदान गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष अनिल खत्रीले जानकारी दिनुभयो ।
महासंघले जिल्लामा यस अघि महिला पत्रकारको लागि मात्रै उक्त सुत्केरी प्रोत्साहन कार्यक्रम उपलब्ध गराउने निर्णय गरेको थियो । तर उक्त निर्णयलाई परिमार्जन गर्दै सबै सदस्यहरुको लागि सुत्केरी प्रोत्साहन प्रदान गर्ने भएको हो । पछिल्लो समय शाखामा आवद्धता बनेका सदस्यहरुको संख्यामा थोरै भएको हुँदा यसलाई कार्यान्वयन गर्न सहजहुने अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
महासंघले पत्रकारिता जस्तो चुनौतीपूर्ण र निरन्तर क्रियाशिलतामा आधारित पेशामा संलग्न सदस्यहरूका परिवारको हेरचाह र हौसला अभिवृद्धिका लागि यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको बताईएको छ । शारीरिक र मानसिक रूपमा संवेदनशील हुनुपर्ने सुत्केरी अवस्थाको समयलाई थप सहज बनाउने उद्देश्यले सम्बन्धित व्यक्तिकै घरमा पुगेर उक्त पोषण सामग्री हस्तान्तरण गरिने बताईएको छ ।
पोषण सामग्री अन्तर्गत दुध, भिटामिनयुक्त खाना, फलफूलजन्य परिकार र स्वास्थ्यसँग सम्बन्धित सहयोगी पोषणजन्य सामग्रीहरू समावेश गरिने भएको संस्थाका सचिव सन्तोष महतराले जानकारी दिनुभएको छ । महासंघले यस कार्यक्रम मार्फत पत्रकारिता क्षेत्रमा सक्रिय रहेका सदस्यहरूका लागि संस्थागत हेरचाह र समर्पणको भाव प्रकट गर्न खोजेको जनाएको छ ।
यसले परिवारको हेरचाह र स्वस्थ जीवनले पत्रकारिता पेशालाई अझै मजवुत बनाउन सकिन्छ भन्ने भावनाको विकास गर्ने सोँचका कारण यस्तो प्रकारको निर्णय गरिएको सचिव महताराको भनाई छ । यस अघि ८५ जना साधारण सदस्यको आवद्धता रहेको गुल्मी शाखामा शुद्धिकरण अभियानपछि हाल २५ जना मात्र साधारण सदस्य रहेका छन् ।

