गुल्मीमा गाईपालक किसानलाई दश हजार प्रोत्साहन अनुदान 

admin

२०८२ श्रावण १० गते, शुक्रबार १९:४९ मा प्रकाशित

रेसुंगा समाचारदाता

गुल्मी, ९ साउन । गुल्मीको सत्यवती गाउँपालिकामा गाईपालक कृषकलाई प्रोत्साहन गर्न शुरु गरेको छ । पालिकाले गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने गाईको लागि प्रोत्साहन स्वरुप प्रति गाई दश हजार रुपैंया अनुदान उपलब्ध गराउने भएको हो ।

गाउँपालिकाले स्थानीय गाईको संरक्षणका लागि गाईका बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गरी गाईपालन तथा तिनको संरक्षण कार्यलाई प्रवद्र्धधन गर्ने उदेश्यले कृषकहरुलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत उक्त योजना ल्याएको गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताउनु भयो । पालिकाले सार्वजनिक रुपमा सूचना प्रकाशन गरि आर्थिक वर्ष २०८२÷०८३ को पशुपन्छी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रम अनुसार उक्त प्रोत्सान कार्यक्रम अघि सारेको हो ।

कार्यक्रमबाट लाभ लिनको लागि पालिकाले २०८२ साउन १ गतेदेखि ०८३ असार १५ गतेभित्र आफ्नो फर्म वा घरमा पालेको गाई पहिलो पटक ब्याएमा दश हजार रुपैंया अनुदान उपलब्ध गराउने जानकारी गराएको छ । उक्त रकम प्राप्त गर्नका लागि कृषकहरुले आफुले पालेको कोरेली गाई बाली भएको पालिकामा जानकारी गराउनु पर्ने बताईएको छ ।

अनुदान प्राप्त गर्नका लागि त्यसका कृषकले पालिकामा निवेदन सहित नागरिकताको प्रतिलिपि, पहिलो पटक व्याएको व्यहोरा उल्लेख गरिएको कम्तिमा तीन जना छिमेकीहरुको हस्ताक्षर सहितको मुचुल्का, सम्बन्धित वडा कार्यालयको सिफारिस, माउ र बच्चा देखिने गरी खिचेको तस्बिर उपलब्ध गराउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनु भएको छ । त्यसका अतिरिक्त निवेदकको बैंक खाता भएको चेकको प्रतिलिपि, भेटेरिनरी प्राविधिकले स्थलगत अनुगमन गरि दिएको रिपोर्ट अनिवार्य हुनुपर्ने भुसालले बताउनु भयो ।

गाउँपालिका उपाध्यक्ष निर माया तरामुका अनुसार यसरी अनुदान लिनका लागि कृषकले अन्यत्रबाट किनेर ल्याएको गाई नभई अनिबार्य रुपमा आफ्नै गोठमा हुर्काएको गाईको बाच्छी हुनुपर्ने बताईएको छ ।

पछिल्लो समयमा गाउँघरमा गाईपालन गर्ने परम्परा विस्तारै लोपहुँदै जान थालेको अबस्थामा जिल्लामा सत्यवती गाउँपालिकाले स्थानीय रैथाने गाईको संरक्षण गर्नका लागि उक्त अभियान सञ्चालन गर्न लागेको हो ।