१ चैत्र २०८२, आईतवार
साउने मेलामा रेसुङ्गामा भक्ति सङ्गीत प्रतियोगिता
गुल्मी, १७ साउन । गुल्मीको प्रसिद्ध धार्मिकस्थल रेसुङ्गामा शुरु भएको साउने मेलामा यतिबेला श्रद्धालुहरुको घुँईचो बढ्दै गएको छ । साउन महिनाभर लाग्ने बिशेष मेलामा रेसुङ्गा स्थित महापोखरी र यज्ञशालामा स्नान र पुजाआजाका लागि टाढाटाढाबाट भक्तजनहरु यहाँ आउने प्रचलन छ ।
विगतका वर्षहरूमा जस्तै यस पटक पनि साउने मेला सुरु भएसँगै रेसुङ्गा धार्मिक पर्यटनका लागि मुख्य गन्तव्य स्थल बनेको छ । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिने तपोभूमि रेसुङ्गा पोखरीमा स्नान गरेमा सम्पूर्ण पापहरू नष्ट भएर पूण्य तथा समृद्धि प्राप्तहुने धार्मिक जनविश्वास रहिआएको छ ।
रेसुङ्गा पोखरीमा चारधामबाट ल्याएको जल मिसाईएकाले उक्त पोखरीमा स्नान गरेमा पूण्य प्राप्तहुने धार्मिक विश्वास रहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनु भएको छ ।
विविध धार्मिक कार्यक्रमहरु सहित शुरु भएको साउने मेलाको अवसरमा रेसुङ्गा संरक्षण समितिले सनिबार भक्ति सङ्गीत प्रतियोगिता आयोजना समेत गरेको थियो । प्रतियोगितामा रातामाट भजन समूह प्रथम, मदाने भजन समूह द्वितीय र छत्रकोट भजन समूह तृतीय बनेका थिए । प्रतियोगितामा प्रेम भजन समूह, राधा माधव समिति, सृजनशील महिला समूह, ठुलापोखरा भजन समूह, अर्खले भजन समूह, शिवशक्ति भजन समूह, चन्द्रकोट चक्रेश्वर भजन समूह, बडिगाड भजन समूह बाग्लुङ र रुरुक्षेत्र भजन समूहको सहभागिता रहेको थियो ।
भक्ति सङ्गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २५ र २० हजार रुपियाँ पुरस्कार प्रदान गरिनुका साथै प्रत्येक समूहलाई सहभागिता स्वरूप पाँच पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो ।

