मुसिकोट उप–प्रमुख श्रेष्ठले गरिन पार्टी निलम्बनको विरोध      

admin

२०८२ भाद्र १ गते, आईतवार २१:१३ मा प्रकाशित

 

गुल्मी, १ भदौ । मुसिकोट नगरपालिका उप–प्रमुख गंगा श्रेष्ठले नेकपा (एमाले) गुल्मीले आफुलाई निलम्बन गरेको प्रति बिरोध जनाउनु भएको छ । उहाँले आईतबार प्रेस विज्ञप्ति जारी गरी उक्त कार्यकोे बिरोध गर्नु भएको हो ।

२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचनबाट उप–प्रमुखमा निर्वाचित श्रेष्ठले आफूलाई साउन २१ गते पार्टीको जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिएको जानकारी सार्वजनिक भएपछि उक्त विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको छ । असार २९ गतेको निर्णयअनुसार पार्टी हित विपरीत काम गरेको भन्दै स्पष्टिकरण मागिएको र आफूले उक्त आरोपहरु अस्वीकार गर्दै त्यसको जवाफ दिँदा समेत कारवाही गर्ने पार्टीको पूर्वाग्रही निर्णय भएको बताउनु भएको छ ।

श्रेष्ठले लामो समयदेखि आफू र आफ्नो परिवारले एमाले संगठन र जनताको सेवामा दिएको योगदानलाई बेवास्ता गरिएको दाबी गर्दै कारबाही फिर्ता लिन समेत नेतृत्वसँग माग गर्नु भएको छ । उहाँले नगर प्रमुख र एमाले नगर अध्यक्षबाट महिला उप–प्रमुख भएको कारण हेपाहा प्रवृत्ति देखाइएको र बजेट निर्माणमा आफ्ना जायज मागहरूलाई बेवास्ता गरिएको आरोप समेत लगाउनु भएको छ ।

पार्टीको जिल्ला अधिवेशनमा लोकतान्त्रिक अभ्यास अनुसार आफ्नो अधिकार प्रयोग गरेको भन्दै लगाइएका कपोलकल्पित आरोपप्रति पनि उहाँको असन्तुष्टि रहेको बताईएको छ । एमालेलाई संकटबाट जोगाउन आफुले लामो समयदेखि खेलेको भूमिकालाई नवआगन्तुक नेताहरूले नबुझेको गुनासो समेत श्रेष्ठको छ । श्रेष्ठले आफू निरन्तर मुसिकोट नगरवासीको विकास, सुशासन र न्यायका लागि सधै लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

पार्टी हित विपरित काम गरेको भन्दै नेकपा एमाले गुल्मीले उपप्रमुख श्रेष्ठलाई पार्टी पदाधिकारीको वैठकले एक बर्षको लागि पार्टी सदस्यबाट निलम्बन गरेको थियो । श्रेष्ठलाई गत असार २९ गते पार्टिको पदाधिकारी बैठकद्वारा स्पष्टीकरण सोधिएको र श्रेष्ठले असार ३२ गते स्पष्टीकरण पेश गरे पनि पार्टी कमिटीले चित्त बुझ्दो जवाफ नपाएपछि कार्वाही गर्नु परेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंङ् काउछाले जानकारी दिनुभएको छ ।