४ माघ २०८२, शनिबार
कृष्ण जन्माष्टमीको अवसरमा गुल्मीमा रोपाइँ जात्रा
गुल्मी, १ भदौ । गुल्मीको सदरमुकाम तम्घासमा कृष्ण जन्माष्टमीको अवसर पारेर यस वर्ष पनि रोपाइँ जात्रा विविध कार्यक्रम सहित भव्यता रुपमा मनाईएको छ । परम्परागत रूपमा हरेक वर्ष जस्तै यसवर्ष पनि विभिन्न संघ–संस्थाको संयुक्त आयोजनामा रोपाइँ जात्रा, सांस्कृतिक प्रस्तुति र धार्मिक गतिविधिहरू, हाँस्यव्याङ्यात्मक प्रस्तुति, लाखे तथा घोडा नाच लगायतका कार्यक्रमहरु गरी रोपाइँ जात्रा मनाईएको थियो ।
जिल्ला स्थित तम्घासस्थान मन्दिर व्यवस्थापन समिति, राधा माधव समिति, सत्यसाई केन्द्र, नेवा खल, विभिन्न विद्यालय एवं संघ–संस्थाहरुले संयुक्त रूपमा व्यवस्थित रुपमा कार्यक्रमको आयोजना गरेका थिए । कृष्ण जन्माष्टमीको अवसरमा गरिएको यस पर्वमा आईबार श्रीकृष्णको रथयात्रा निकाली श्रीकृष्णको स्तुती गानसँगै बजार परिक्रमा समेत गरिएको थियो ।
नयाँ पुस्तालाई पुराना संस्कृति र परम्परासँग परिचित गराउन यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको राधा माधव समितिका सदस्य ताराप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार धार्मिक पर्वसँगै मनोरञ्जनात्मक कार्यक्रमलाई समेत जोडेर नयाँ पुस्ताहरु जिल्लामा यस्ता प्रकारका संस्कृतिको जगेर्ना र संरक्षणमा जुटेका छन ।
रोपाइँ जात्रालाई मध्यनजर गर्दै रेसुङ्गा नगरपालिकाले आईतबार सार्वजनिक विदा दिएको थियो । रोपाइँ जात्रा हेर्नका लागि वर्षेनी गुल्मी सहित वाग्लुङ्, अर्घाखाँची, प्यूठान लगायतका क्षेत्रबाट मानिसहरु आउने परम्परा रहेको छ ।


