२ चैत्र २०८२, सोमबार
शिक्षा ऐन खारेजीको माग गर्दै गुल्मीका निजी विद्यालयहरु आन्दोलित
गुल्मी, १२ भदौ । गुल्मी जिल्लाका निजी तथा आवासीय विद्यालयहरूले प्रस्तावित विभेदकारी शिक्षा ऐन २०८० खारेजको माग गर्दै बिरोध जनाएका छन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) गुल्मीले सरोकारवालासँग अन्तरक्रिया र पत्रकार सम्मेलन समेत गरेको थियो । अन्तरक्रिया र पत्रकार सम्मेलनपछि प्याब्सनले जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गरी आन्दोलन गर्ने घोषणा गरेको हो ।
कार्यक्रममा प्याब्सन गुल्मीका अध्यक्ष राजु कुवँरले सरकारले पाँच लाखभन्दा बढी रोजगारी सिर्जना गरिरहेको निजी क्षेत्रलाई धराशायी बनाउन खोजेको आरोप लगाउनु भएको छ । उहाँले छिमेकी देश चीनमा समेत करिब एक लाख निजी विद्यालय रहेको भन्दै नेपालमा भने सरकारले निजी क्षेत्रमा आशा र उत्साह जगाउने समयमा उल्टै निरुत्साहित र दुखिद बनाउने काम गरेको बताउनुभयो ।
अन्तरक्रियामा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले निजी विद्यालयहरुलाई परेको समस्याका विषयमा सरकारले विभिन्न निकाय मार्फत छलफल गरी पुनर्विचार गर्नुपर्नेमा जोड दिनुभएको छ । सोही कार्यक्रममा एमाले नेता माधव ज्ञवालीले सरकारले पहिले स्वीकृति दिने र पछिआएर अप्ठ्यारोमा पार्ने काम गर्नु गलत भएको टिप्पणी गरेका गर्नुभयो ।
नेकपा माओवादी केन्द्रको तर्फबाट बोल्दै नेता वीरबहादुर कार्कीले हालको सरकारबाट न्यायको अपेक्षा गर्नु मूर्खता भएको आरोप लगाउनु भयो । त्यसैगरी नागरिक समाज गुल्मीका संयोजक पदम प्रसाद पाण्डेले राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा ग्यारेन्टी गर्न नसकेको टिप्पणी गर्नु भएको थियो ।
उक्त कार्यक्रममा गुल्मी उद्योग वाणिज्यका अध्यक्ष मृगेन्द्र प्रसाद श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गा प्रसाद पाण्डेय, प्याब्सन गुल्मीका संस्थापक अध्यक्ष दानबहादुर केसी, पुर्व अध्यक्ष श्रीप्रसाद भलामी लगायतका व्यक्तिहरुले आन्दोलन प्रति ऐक्यवद्धता जनाउनु भएको थियो ।

