जेनजी आन्दोलनमा बुटवलबाट चोरी भएका सामानहरु गुल्मीमा बरामद 

admin

२०८२ भाद्र ३१ गते, मंगलवार ०८:२० मा प्रकाशित

गुल्मी, ३१ भदौ । जिल्ला प्रहरी कार्यालय गुल्मीले जेनजी आन्दोलनका क्रममा बुटवल आन्तरिक राजस्व कार्यालयबाट चोरी गरिएका सामग्रिहरु बरामद गरेको छ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउने क्रममा एक युवकबाट तम्घास स्थित देउरालीमा रहेको प्रहरी चेकपोष्टबाट सोमबार एक लाख ५० हजार मूल्य बरावरका सामग्रिहरु बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई प्राप्त सूचना अनुसार सोमबार अपरान्ह बुटवलबाट सार्वजनिक यातायात मार्फत गुल्मीको इस्मा गाउँपालिका –२ स्थित घर जाँदै गरेका युवकलाई शंकास्पद लागेर सोधपुछ गर्दा प्रहरीले उक्त सामग्रि फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी गंगा बहादुर सारुले जानकारी दिनुभएको छ ।

बरामद गरिएका सामग्रिहरुमा कम्प्यूटर, कुर्ता, साडी, जुत्ता–चप्पल, विद्युतीय चुरोट लगायतका एक दर्जन भन्दा बढी सामग्रिहरु रहेका छन । उक्त सामिग्रहरु आन्तरिक राजस्व कार्यालयले भन्सारमा चेकजाँचको क्रममा राजस्वछली गरेर ल्याईएको अवस्थामा बरामद गरि राखेका सामानहरु हुनसक्ने बताईएको छ ।

पक्राउ परेका युवकको नाम भने प्रहरीले गोप्य राखेको छ । बरामद गरिएका सामानहरुलाई प्रहरीले मुचुल्का गरेर कार्यालयमा राखेको छ । उक्त युवकलाई भने बोलाएको समयमा उपस्थितहुने गरी अभिभावको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।