२७ फाल्गुन २०८२, बुधबार
नेपाली काँग्रेस गुल्मीद्वारा जेनजी आन्दोलनका सहिदहरूको स्मृतिमा दिप प्रज्वलन
गुल्मी, ४ असोज । नेपाली काँग्रेस गुल्मीले भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा सनिबार साँझ सदरमुकाम तम्घासमा दिप प्रज्वलन गरेको छ ।
दिप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जेनजी आन्दोलनलाई नेपालको लोकतान्त्रिक इतिहासमा एक फरक आन्दोलन भएको बताउनु भएको छ । उहाँले आन्दोलनका क्रममा दिवंगत भएका व्यक्तिहरुप्रति श्रद्धासुमन अपर्ण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभ र मृतका परिवारहरु प्रति समवेदना प्रकट गर्नुभएको छ ।
पार्टी सभापति पन्थीले भदौ २३ गतेको आन्दोलन एउटा अप्रत्यासित घटना भएको भन्दै त्यो नेपाली जनताले लामो समयदेखि भोग्दै आएको अवस्थाकोे प्रतिकार भएको बताउनुभयो । उहाँले आन्दोलनमा जीवन अर्पण गर्ने सहिदहरूको वलिदानलाई कसैले पनि नजरअन्दाज गर्न नहुने भन्दै बदलिदो समयलाई हामी कसैले कहिल्यै पनि बिर्सन नहुने बताउनु भएको छ ।
सभापति पन्थीले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको भन्दै बताउनु भयो । सहिदको रगतले सिँचिएको लोकतन्त्रलाई कमजोर पार्ने कुनै पनि प्रयास नेपाली काँग्रेसले सहन नसक्ने भन्दै सभापति पन्थीले आफुहरु सधैं संविधान, विधि र पद्धतिमा आधारित शासन प्रणालीको पक्षमा उभिईरहने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तहका नेताहरू, युवा नेता, विद्यार्थी, महिला संघ लगायत नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


