साधारण सभामा उत्कृष्ट सहकारी र कर्मचारी सम्मानित

admin

२०८२ पुष २१ गते, सोमबार २२:२२ मा प्रकाशित

गुल्मी, २१ पुस । गुल्मी जिल्लामा रहेका सहकारी संस्थाहरूको छाता संगठन जिल्ला सहकारी संघ गुल्मीको ३२ औँ वार्षिक साधारण सभा सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । साधारण सभामा संघका अध्यक्ष यम बहादुर थापाले आर्थिक वर्ष २०८१÷८२ को अध्यक्ष प्रतिवेदन प्रस्तुत गर्दै उहाँले सहकारी क्षेत्र हाल जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष थापाले सहकारी अभियान सहकारी अभियन्ताले सोचेअनुसार कार्यान्वयन गर्न नसकिने अवस्था सिर्जना भएको बताउँदै यस्तोहुनुमा केही कमजोरी सहकारी र केही नियामक निकायको उदासिनता र लापरवाहीबाट भएको बताउनुु भएको थियो । उहाँले सहकारी राष्ट्रिय नियमन प्राधिकरणले अन्धाधुन्ध कानुन निर्माण गर्दा धेरै सहकारी जोखिममा परेको बताउनु भयो ।

संघले कफी संकलन, प्रशोधन तथा बजारीकरण जस्ता उत्पादनमूलक कामहरू गर्दै आएको जानकारी पनि अध्यक्ष थापाले गराउनुभयो । कार्यक्रममा संघका उपाध्यक्ष सोमनाथ सापकोटाले सहकारी आन्दोलनलाई व्यवसायिक, उत्पादनमुखी र सहकार्यमा आधारित बनाउनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्वासेले सहकारी सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले नेपालमा हाल ३२ हजार ९ सय ६५ सहकारी संस्था सञ्चालनमा रहेको जानकारी दिँदै ती संस्थामार्फत १० हजार ३ सय ६५ जनाले प्रत्यक्ष रोजगारी पाएको बताउनुभयो ।

साधारण सभामा उत्कृष्ट कार्य गर्ने दुई सहकारी संस्था र दुई जना व्यवस्थापकलाई सम्मान गरिएको थियो । सम्मानितहुनेमा उत्कृष्ट सहकारीका रूपमा स्वावलम्बन महिला बचत तथा ऋण सहकारी संस्था र उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन । त्यसैगरी उत्कृष्ट कर्मचारीतर्फ जिल्ला सहकारी संघका व्यवस्थापक युवराज आचार्य र गुल्मी युनाइटेड बचत तथा ऋण सहकारीकी कम्प्युटर सहायक सावित्रा पाण्डेलाई दोसल्ला, प्रमाणपत्र तथा नगदसहित सम्मान गरिएको थियो ।

त्यसैगरी मदाने गाउँपालिका अन्तर्गत सिर्सेनीका कफी कृषक मेघराज अर्याल र रेसुंगा नगरपालिका–१० सिमिचौरकी मन्जु केसीलाई कफी उत्पादनमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो ।