३ बैशाख २०८३, बिहीबार
निर्माण व्यवसायी वलियो नहुँदासम्म विकासले गति लिँदैन : बरिष्ठ उपाध्यक्ष लामा
गुल्मी, २३ पुस । नेपाल निर्माण व्यवसायी महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष एडी लामाले निर्माण व्यवसायीको संस्था मर्यादित,अनुशासित र बलियो नभएसम्म दिगो विकास सम्भव नहुने बताउनुभएको छ । गुल्मीको सदरमुकाम तम्घासमा बुधबार बेलुका आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष लामाले राज्यले निर्माण व्यवसायीले सम्पन्न भइसकेका योजनाको भुक्तानी समयमै दिन नसक्दा निर्माण व्यवसायी गम्भीर समस्यामा परेको बताउनुभयो ।
बरिष्ठ उपाध्यक्ष लामाले निर्माण प्रक्रियामा देखिएका विचौलियाको विकृति नियन्त्रण गर्न महासंघले नीतिगत सुधारमा जोड दिएको बताउनुभएको थियो । उहाँले १५ प्रतिशत भन्दा बढी लो बिड हाल्न नपाइने व्यवस्था कार्यान्वयन गर्न संघले सरकारसँग प्रस्ताब गरेको जानकारी दिनुभयो । लामाले केन्द्रीय अधिबेशन अघि निर्माण व्यवसायीका वास्तविक समस्या बुझ्नका लागि आफुहरु जिल्ला भ्रमणमा निस्कको बताउनुभयो ।
महासंघले हरेक वर्ष जिल्लामा कम्तीमा पाँचवटा निर्माण व्यवसायीको आफ्नै भवन निर्माण गर्ने योजना अघि सारेको बताउदै उहाँले यसले संस्थागत सुदृढीकरणमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठ सहितका पदाधिकारीहरूले न्यूनतम स्रोत साधन नभएकालाई इजाजतपत्र वितरण गरिएको, विमा व्यवस्था अत्यन्त झन्झटिलो बनेको र समयमा काम सम्पन्न गर्दा पनि व्यपसायीले भुक्तानी नपाएको भन्दै निर्माण क्षेत्रका देखिएका समस्याको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा महासंघका केन्द्रीय नीतिगत उपमहासचिव शिवहरी घिमिरे, केन्द्रीय सदस्य राजकुमार वास्ताकोटी र बालाजु श्रेष्ठले जिल्लाजिल्लामा निर्माण व्यावसायी बलियो भए प्रदेश र केन्द्र पनि स्वतः बलियो हुने बताउनु भएको थियो । अन्तरक्रियामा निर्माण व्यवसायीहरूले विमा व्यवस्था अत्यन्त झन्झटिलो बनेको, स्थानिय सरकारले हककचुवाको भरमा इजाजतपत्र दिने गरेको, समयमा काम सम्पन्न गर्दा पनि व्यवसायीले भुक्तानी नपाएको भन्दै निर्माण क्षेत्रमा देखिएका गम्भीर समस्या औल्यानुभएको थियो ।
निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष गगन केसी, उपाध्यक्ष दधि पाण्डे लगायतले जिल्लामा निर्माण व्यवसायीले भोग्दै आएका समस्या, भुक्तानीमा भएको ढिलाइ र नीतिगत जटिलता लगायतका समस्याहरु अवगत गराउनुभएको थियो । कार्यक्रममा उपमहासचिव भोजप्रसाद श्रेष्ठ, खुम खत्री, खडानन्द पाण्डे, गौतम भुसाल लगायतको सहभागिता रहेको थियो ।
आउँदो माघ १५ देखि १७ गतेसम्म काठमाडौंमा सम्पन्नहुन गइरहेको तेह्रौँ केन्द्रीय महाधिवेशनको सन्दर्भमा उक्त टोली ३१ औँ जिल्ला भ्रमणको क्रममा बुधबार बेलुकी गुल्मी आइपुगेको हो ।

