३ बैशाख २०८३, बिहीबार
रेसुङ्गा नगरपालिकाद्वारा शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा जोड
गुल्मी, २४ पुस । रेसुङ्गा नगरपालिकाले चालु आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । रेसुङ्गा नगरपालिकाको १८ औं नगरसभामा प्रगति विवरण प्रस्तुत गर्दै नगर प्रमुख खिलध्वज पन्थीले नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ नगरले नागरिकमैत्री कार्यक्रम तथा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अघि बढिरहेको बताउनु भयो ।
उहाँले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका सन्तानलाई छात्रवृत्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको, वैदेशिक रोजगारकै क्रममा मृत्यु तथा बिरामी श्रमिकका परिवारलाई आर्थिक सहायताका लागि सहजीकरण गरिएको, जिल्ला सदरमुकाममा बसोबास गर्ने सबै पालिकाका नागरिकका श्रम स्वीकृतिको सेवा प्रदान लगायतका काममा सहजीकरण गरिएको बताउनु भयो । नगरपालिकाले १५० जनालाई नयाँ श्रम स्वीकृति तथा वैदेशिक रोजगारी सम्बन्धी परामर्श सेवा दिइएको बताईएको छ ।
नगरपालिकाको आन्तरिक राजश्वतर्फ चालु आर्थिक वर्षमा रु १ करोड ९८ लाख लक्ष्य राखिएकोमा हालसम्म रु १ करोड १५ लाखभन्दा बढी संकलन भएको जनाएको छ । शिक्षा क्षेत्रतर्फ शिक्षक दरबन्दी मिलान, स्थानीय पाठ्यपुस्तक छपाइ, एकीकृत पाठ्यक्रम तालिम तथा स्थानीय शिक्षा योजना निर्माण कार्य अगाडि बढाएको छ । विद्यार्थी लक्षित लोकनृत्य, वक्तृत्वकला, खेलकुद प्रतियोगिता तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको प्रगति बिबरणमा उल्लेख गरिएको छ ।
स्वास्थ्यतर्फ गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टरहरुको व्यवस्था, मृगौला डायलाइसिस सेवा, तथ्यांक व्यवस्थापन सुधार, मुटुरोग, क्यान्सर, मृगौला तथा अन्य दीर्घ रोगीलाई उपचारमा सहजीकरण पाठेघर तथा मुखको क्यान्सरको पहिचान लगायतका सेवा सुरु गरेको छ । कृषि क्षेत्रमा आलु पकेट विकास कार्यक्रम अन्तर्गत ९० क्विन्टल बीउ आलु वितरण गर्नुका साथै सुन्तला विशेष कार्यक्रम तथा रैथाने बाली प्रवद्र्धन मार्फत कृषकको आयआर्जन बढाउने प्रयास भइरहेको बताईएको छ ।
पुर्वाधारतर्फ नगरपालिकाभित्र ७० किलोमिटर भन्दा बढी पक्की सडक निर्माण सम्पन्न हुनुका साथै खानेपानी, सडक, पुल, विद्यालय भवन, खेलमैदान र हाटबजार निर्माणका कामहरु तिव्ररुपमा अघि बढिरहेको उल्लेख छ । ‘जाउँ हिँड रेसुङ्गा’ अभियान मार्फत पर्यटन प्रवद्र्धन गर्दै चालु आर्थिक वर्षमा करिब ४० हजार पर्यटकले रेसुङ्गा भ्रमण गरिसकेको नगरपालिकाले जनाएको छ ।
नगर सभामा विधायन समितिका संयोजक कृष्ण पाण्डेले आर्थिक कार्यविधि एवं वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ पेश गर्नुभएको थियो । त्यसैगरी रेसुङ्गा नगरपालिकाको विनियोजन ऐन २०८२ र रेसुङ्गा नगरपालिकाको आर्थिक ऐन २०८२ लाई संसोधन गर्ने प्रस्ताव समेत नगर सभामा पेश गरिएको थियो ।
नगर सभामा नगर प्रमुख पन्थीले नगरपालिकाले न्याय, सुशासन र विकासलाई केन्द्रमा राख्दै समुन्नत रेसुङ्गा निर्माणको अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

