गुल्मीमा पत्रकारलाई निःशुल्क यात्रा सुविधा उपलब्ध गराईने घोषणा

admin

२०८२ फाल्गुन ११ गते, सोमबार १७:१९ मा प्रकाशित

गुल्मी, ११ फागुन । गुल्मी यातायात प्रालिले रिपोर्टिङ्का क्रममा सवारी साधन प्रयोग गर्नुपर्ने जिल्लाका पत्रकारहरूलाई निःशुल्क यात्रा सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । सोमबार संस्थाको २४औँ स्थापना दिवसका अवसरमा सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णय सार्वजनिक गरिएको हो ।

संस्थाका अध्यक्ष रुपकलाल श्रेष्ठले समाचार सङ्कलन तथा प्रसारणका लागि विभिन्न स्थानमा पुग्नुपर्ने पत्रकारहरूको काममा सहयोग पुराउने उद्देश्यले उक्त निःशुल्क यात्रा सुविधा उपलब्ध गराउने बताउनु भएको छ । त्यसका लागि पत्रकार महासंघको सिफारिस आवश्यक पर्ने बताईएको छ । अध्यक्ष श्रेष्ठले संस्थाले सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत सञ्चारकर्मीहरुसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

यात्रुको सुरक्षालाई थप सहज र सुदृढ बनाउन हाल कायम रहेको रु पाँच लाख बीमा बाहेक प्रति यात्रु न्यूनतम रु दुई लाखदेखि रु पाँच लाखसम्म अतिरिक्त बीमा सुविधा प्रदान गर्ने घोषणा समेत गरिएको छ । वि.सं. २०५२ सालमा जिप व्यवसायबाट सुरु गरेर २०५९ सालमा विधिवत् दर्ता भएको उक्त संस्थामा हाल ४४० सवारी साधनहरु रहेका छन् । तीमध्ये ३१७ सवारी साधन सञ्चालन अवस्थामा छन् । प्रालिको सदरमुकाम तम्घास र रिडीमा आफ्नै भवन निर्माण हुनुका साथै जिल्लाभर ६८ वटा टिकट काउन्टर मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

कम्पनीले आगामी दिनमा सेवा विस्तार तथा थप सवारी साधन भित्राउने योजना सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा संस्थाका महासचिव हिमाल कुँवरले यात्रुको सुरक्षा, सेवा विस्तार र सामाजिक उत्तरदायित्वलाई सँगै अघि बढाउने लक्ष्य सहित संस्थालाई अगाडि बढाउँदै लैजान थालिएको बताउनुभयो । स्थापना दिवसकै अवसरमा संस्थाद्वारा तम्घास स्थित गुल्मी अस्पतालमा उपचाररत बिरामीलाई फलफूल समेत वितरण गरिएको थियो ।