गुल्मीमा सीसीटिभीको निगरानीमा मतगणना गरिने

admin

२०८२ फाल्गुन २० गते, बुधबार १८:२५ मा प्रकाशित

गुल्मी, २० फागुन । भोली बिहीबारहुने प्रतिनिधि सभा निर्वाचनको मतगणनालाई सुरक्षित र व्यवस्थित बनाउन गुल्मीमा दुई स्थानमा मतगणना स्थल निर्माण गरिएको छ । गणना स्थलमा सीसीटिभी क्यामेराको निगरानी तथा तारजाली सहितको कडा सुरक्षा प्रबन्ध मिलाईएको छ ।

जिल्ला समन्वय समितिको हलमा निर्वाचन क्षेत्र नं १ को मतगणना गरिनेछ भने निर्वाचन क्षेत्र नं २ को मतगणना रेसुङ्गा बहुमुखी क्याम्पसको हलमा गरिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । मतगणना स्थलमा मतगणकलाई तारजाली भित्र राखेर सीसीटिभी क्यामेराबाट निगरानी गरिने भएको छ ।

मतगणनामा सहभागी उम्मेदवारका प्रतिनिधिलाई जाली बाहिरबाट बस्न र प्रत्यक्ष अवलोकन गर्न मिल्ने गरी व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो । मतगणनालाई पारदर्शी, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको उहाँको भनाइ छ ।

जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले मतगणना कार्यलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन आयोगको मापदण्ड अनुसार आवश्यक सम्पूर्ण व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले मतगणना स्थलमा प्रवेशका लागि परिचयपत्र अनिवार्य गरिएको र सुरक्षाकर्मीको कडा निगरानी रहने जानकारी दिनुभयो ।

मतदान अधिकृतहरूले मतदान केन्द्रमा सर्वदलीय बैठक समेत सम्पन्न गरिसकेको जनाइएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर तोकिएका सबै मतदान स्थलमा आवश्यक पूर्वाधार सहित मतदान केन्द्र निर्माणको काम सम्पन्न भैसकेको छ ।

जिल्लामा रहेका विभिन्न पालिकाका अधिकाँस विद्यालय भवनमा मतदान केन्द्र राखिएको छ । मतदान केन्द्रमा मतपेटिका राख्ने व्यवस्था, मतदाताहरुको लाइन व्यवस्थापन, गोपनीय मतदान कक्ष निर्माण तथा अपाङ्गमैत्री लगायत व्यवस्था मिलाइएको बताइएको छ ।

जिल्लामा कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नं १ मा एक लाख २२ हजार १८६ जना तथा निर्वाचन क्षेत्र नं २ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन् ।