२९ चैत्र २०८२, आईतवार
गुल्मीमा ४६ दशमलव ५ प्रतिशत मतदान मतपेटीका रातिसम्म सदरमुकाम ल्याइँदै
गुल्मी, २१ फागुन । गुल्मी जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत हालसम्म ४६ दशमलव ५ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभरका मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक विवरण अनुसार कुल एक लाख ६ हजार ८२६ मत खसेको छ ।
निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेका अनुसार अहिले प्राप्त बिवरण प्रारम्भिक भएकाले मतदान प्रतिशत अझ बढ्न सक्ने जनाइएको छ । मतदान सम्पन्न भएपछि विभिन्न स्थानबाट मतपेटिका सदरमुकाम ल्याउने क्रम जारी रहेको छ । सबै मतपेटिका ढिलोमा आज राति एक–दुई बजेसम्म सदरमुकाम आइपुग्ने निर्वाचन अधिकारी घिमिरेले जानकारी दिनुभयो ।
जिल्लामा कुल दुई लाख २९ हजार ५ सय ४९ मतदाता रहेका थिए । तीमध्ये महिला मतदाता एक लाख १५ हजार २ सय १०, पुरुष मतदाता एक लाख १४ हजार ३ सय ३७ तथा अन्य मतदाता दुई जना रहेका थिए । जिल्लाभर एक सय ४५ मतदान स्थलमा दुई सय ८४ मतदान केन्द्र स्थापना गरिएको थियो ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा कुल एक लाख २२ हजार १ सय ८६ मतदाता रहेका थिए । तीमध्ये महिला ६२ हजार २ सय ७२ र पुरुष ५९ हजार ९ सय १४ जना रहेका थिए । उक्त क्षेत्रमा ८३ मतदान स्थलमा एक सय ५५ मतदान केन्द्र रहेका थिए ।
त्यस्तै क्षेत्र नम्बर २ मा कुल एक लाख ७ हजार ३ सय ६३ मतदाता रहेका थिए । यस क्षेत्रमा महिला ५२ हजार ९ सय ३८, पुरुष ५४ हजार ४ सय २३ तथा अन्य मतदाता दुई जना रहेका थिए । उक्त क्षेत्रमा ६२ मतदान स्थलमा एक सय २९ मतदान केन्द्र कायम गरिएको थियो । जिल्ला कारागारमा समेत एक अस्थायी मतदान केन्द्र स्थापना गरिएको थियो ।
निर्वाचनमा जिल्लाबाट कुल ४३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । तीमध्ये क्षेत्र नम्बर १ मा २१ जना र क्षेत्र नम्बर २ मा २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लामा दिनभर सान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ ग्रैह्रेले बताउनु भएको छ । यस पटकको निर्वाचनमा मतदाताहरुमा भने त्यत्ति उत्साह देखिएन । मतदान गर्नेहरुमा पुरुषहरुको तुलनामा महिलाहरुको संख्या बढी रहेको थियो ।

