गुल्मीदरबारमा पूर्ण खोप, पोषण र संस्थागत प्रसूति कार्यक्रम सुनिश्चित

admin

२०८३ जेष्ठ ७ गते, बिहीबार १८:३८ मा प्रकाशित

गुल्मी, ७ जेठ । गुल्मीदरबार गाउँपालिकाले पालिकामा पूर्ण खोप, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत प्रसूति सेवा घोषणा कार्यक्रमलाई सुनिश्चित गरेकोे छ । पूर्ण खोप सुनिश्चितका लागि तोकिएका उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पुरा गरेको, नियमित खोप सेवा सञ्चालन तथा खोप अभिलेख व्यवस्थित लगायतका सूचक पूरा भएपछि पालिकाद्वारा घोषणा कार्यक्रमलाई सुनिश्चित गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिनुभयो ।

त्यसैगरी पालिकामा पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा सुनिश्चितका लागि गर्भवती तथा सुत्केरी महिलाको नियमित स्वास्थ्य परीक्षण, बालबालिकाको वृद्धि अनुगमन, कुपोषण व्यवस्थापन, स्तनपान तथा पोषण सम्बन्धी परामर्श सेवा लगायतका सूचक पूरा गर्नुपर्ने बताईएको छ ।

संस्थागत प्रसूति सेवा घोषणा कार्यक्रम सुनिश्चितका लागि गाउँपालिका भित्रका गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराउने, गर्भ जाँच तथा सुत्केरीपछिको सेवा नियमित लिने र मातृ तथा नवजात शिशु मृत्यु दर न्यूनीकरण लगायतका सूचक हासिल गरिएको स्वास्थ्य शाखा प्रमुख अर्यालले बताउनुभयो ।

घोषणा कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्य सहित स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

सोही कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाले अवकाश प्राप्त महिला स्वास्थ्य स्वयंसेविका सुमित्रा खड्कालाई रु ५० हजार नगदसहित सम्मान गरेको थियो । पालिकाले वडा नं २ स्थित जुभुङ स्वास्थ्य चौकीमा कार्यरत खड्कालाई ६० वर्ष उमेर पूरा गरी अनिवार्य अवकाशपछि गाउँपालिका अध्यक्ष सरोजकुमार थापा, उपाध्यक्ष तारा थापा ढेँगा तथा प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल लगायतले नगद सहित दोसल्ला, प्रमाणपत्र तथा जिन्सी सामग्रीद्वारा सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा उपाध्यक्ष तारा थापा ढेँगाले महिला स्वास्थ्य स्वयंसेविकाले ग्रामीण क्षेत्रमा मातृ तथा शिशु स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले स्वास्थ्य सेवाको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा स्वयंसेविकाको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नभएको थियो ।

उक्त कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।