रेसुङ्गा साउने मेलामा १४ लाख भन्दा बढी भेटी सङ्कलन

admin

२०८३ भाद्र १७ गते, बुधबार १९:०२ मा प्रकाशित

गुल्मी, १७ भदौ । गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा सञ्चालित एक महिने धार्मिक मेलामा १४ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।

रेसुङ्गा संरक्षण समितिले यज्ञशाला, सिद्धस्थान, विष्णुपादुका, गरुडस्थान र महापोखरी क्षेत्रमा साउन महिनाभर श्रद्धालुबाट उक्त भेटी रकम सङ्कलन भएको हो ।

सङ्कलित भेटी रकमबाट पाँच लाख ८६ हजार ४४५ खर्च भएको छ भने आठ लाख ३५ हजार ८८६ बचत भएको रेसुङ्गा संरक्षण समितिका कोषाध्यक्ष नेत्र बहादुर बस्नेतले जानकारी दिनुभयो । साउन महिनामा सङ्कलन भएको भेटीको गणना सकिएपछि आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको कोषाध्यक्ष बस्नेतले बताउनुभयो । गत वर्षको साउन महिनामा रेसुङ्गा क्षेत्रबाट १३ लाख १८ हजार १५६ रुपैयाँ भेटी सङ्कलन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा यो वर्ष भेटीको रकम बढेको हो ।

समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार साउन महिनामा मात्र रेसुङ्गा एक लाख ५० हजारभन्दा बढी श्रद्धालु तथा धार्मिक पर्यटक पुगेका छन् । विगतका वर्षको तुलनामा यस वर्ष साउन महिनामा रेसुङ्गा पुग्ने श्रद्धालुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको उहाँले बताउनुभयो ।

धर्मकर्ममा आस्था राख्ने विभिन्न जिल्लाका श्रद्धालु वर्षमा एक पटक साउन महिनामा रेसुङ्गा पुग्नुपर्छ भन्ने धार्मिक मान्यता छ । विशेषगरी साउन महिनामा आयोजना हुने एक महिने धार्मिक मेलाका कारण रेसुङ्गा भक्तजनको ठूलो उपस्थिति हुने गरेको छ । रेसुङ्गालाई धार्मिक परम्परा अनुसार तपोभूमि तथा सिद्धक्षेत्रका रूपमा चिनिन्छ । त्रेतायुगदेखि नै ऋषिमुनिहरुले यस क्षेत्रमा तपस्या गरेको धार्मिक विश्वासका कारण यसलाई सिद्धक्षेत्र समेत भनिने गरिएको अध्यक्ष भुसालले बताउनुभयो ।

रेसुङ्गा क्षेत्रको धार्मिक महत्वसँग जोडिएको महापोखरीलाई बालसिद्ध पोखरीका रूपमा समेत मानिन्छ । धार्मिक मान्यता अनुसार यहाँ बालसिद्धलाई भगवान् शिवका रूपमा पूजा गर्ने गरिन्छ । यही धार्मिक आस्थाका कारण साउन महिनाभर महापोखरीमा स्नान गर्र्न श्रद्धालुको घुइँचो लाग्ने गर्दछ ।

महापोखरीमा स्नान गरी नजिकै रहेको यज्ञशालामा पूजाआजा गरेर सिद्धको दर्शन गरेमा मनोकाँक्षा पूरा हुने र सन्तान प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास समेत रहेको छ । गुल्मीका विभिन्न स्थानका साथै पाल्पा, रुपन्देही, बागलुङ, अर्घाखाँची, स्याङ्जा, नवलपरासी र कपिलवस्त लगायतका जिल्लाबाट श्रद्धालुहरु यहाँ आउने गर्दछन् ।

रेसुङ्गा यज्ञशालाका पण्डित कृष्ण पन्थीका अनुसार साउन महिनामा खेतीपाती तथा पशुपालन गर्ने कृषकले मकै, दूध लगायतका उत्पादन पहिलो पटक रेसुङ्गा रहेको सिद्ध मन्दिरमा चढाउने परम्परा छ । साउन महिनाभर रेसुङ्गा स्थित यज्ञशाला मन्दिरमा दैनिक हवन, रुद्री, गीता तथा चण्डी पाठ लगायत धार्मिक अनुष्ठान समेत सञ्चालन गरिएको थियो ।

समितिले रेसुङ्गा क्षेत्रमा रहेको गौशाला संरक्षणका लागि काम गर्दै आएको छ । गौशालामा हाल करिब १६० वटा गाई रहेका छन् । पछिल्लो समयमा गाईको सङ्ख्या बढ्दै जाँदा तिनीहरुकालागि घाँस, दाना तथा व्यवस्थापनमा चुनौती थपिँदै गएको समितिले जनाएको छ । रेसुङ्गा प्राकृतिक सुन्दरता र जैविक विविधतासँगै जिल्लाकै मुख्य धार्मिक तथा पर्यटकीय गन्तव्य स्थलकोरुपमा परिचित छ ।