१९ भाद्र २०८३, शुक्रबार
सामाजिक सेवामा अग्रसर राधा माधव समिति नेपालद्वारा १५ लाख राहत सहयोग
काठमाडौं — विपद्को समयमा पीडित नागरिकको साथमा उभिँदै आएको श्री राधा माधव समिति नेपालले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित जनसमुदायका लागि १५ लाख १५ हजार ५ सय ५५ रुपैयाँ राहत सहयोग गरेको छ।
श्री राधा माधव समिति नेपाल, विद्वत् समाज नेपाल एवं डिभाइन यूथ क्लब नेपाल परिवारका तर्फबाट प्रदान गरिएको उक्त सहयोग रकमको चेक माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।
राधा माधव समिति नेपालअन्तर्गत रहेका डिभाइन यूथ क्लब नेपाल र विद्वत् समाज नेपालले विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधिहरू सञ्चालन गर्दै आएका छन्। प्राकृतिक विपद्का बेला राहत, उद्धार तथा स्वयंसेवाका कार्यमा समेत यी संस्थाहरू सक्रिय हुँदै आएका छन्।
विशेषगरी भूकम्प, बाढी, पहिरोलगायतका विपद्का समयमा रातो पोसाकमा परिचालित डिभाइन यूथ क्लबका स्वयंसेवकहरू अग्रपंक्तिमा खटिँदै आएका छन्। विपद् प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्याउनेदेखि राहत तथा उद्धारका कार्यमा स्वयंसेवकहरूले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।
राधा माधव समिति नेपालले ‘सेवा नै साधना र मानवता नै धर्म’ भन्ने भावनालाई आत्मसात् गर्दै सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ। विपद्को कठिन घडीमा प्रभावित नागरिकको पीडामा साथ र सहयोग निरन्तर रहने समितिको प्रतिबद्धता छ।


