३१ भाद्र २०८३, बुधबार
सामाजिक सुरक्षा भत्ता नविकरणका लागि घुम्टी शिविर
जनार्दन घिमिरे गुल्मी, २८ भदौ । गुल्मीको मुसिकोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि घुम्टी शिविर सञ्चालन गरेर आफ्ना नागरिकहरुलाई सहजरुपमा सेवा प्रदान गरेको छ । गुल्मीको मुसिकोट नगरपालिकाबाट जिल्ला बाहिर बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई लक्षित गरी रुपन्देहीको बुटवलमा घुम्टी शिविर मार्फत परिचयपत्र नवीकरण तथा दर्ता गरिदिएको छ । वर्षादको समयमा टाढाटाढाबाट पालिकासम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै लाभग्राहीलाई पायक पर्ने स्थानमै पुगेर सेवा उपलब्ध गराएको नगर प्रमुख जीवन खरेलले बताउनुभयो । दुई दिनसम्म सञ्चालन गरिएको उक्त शिविरबाट एक सय ७५ जना नागरिकहरुले सेवा प्राप्त गरेको नगरपालिकाले जनाएको छ । बुटवल उपमहानगरपालिका–५ स्थित वडा कार्यालयको सभाहलमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको परिचयपत्र नवीकरण तथा नयाँ दर्ता सेवा उपलब्ध गराईएको थियो । शिविरमा बुटवल सहित रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, दाङ लगायत जिल्लामा बसोबास गर्ने मुसिकोट नगरपालिकावासी नागरिकहरु लाभान्वित भएका छन् । नागरिकलाई सहज र सर्वसुलभरुपमा सेवा पाउन सकुन भनेर मुसिकोट बाहिर बसोबास गर्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीको सहजताका लागि सबैलाई पायक पर्ने स्थान मिलाएर स्थानीय सरकारद्वारा शिविर सञ्चालन गरिएको नगर प्रमुख खरेलले बताउनुभयो । मुसिकोट नगरपािलका–५ आँचौर घर भई हाल रुपन्देहीमा बस्दै आउनु भएकी मायादेवी दमाईले स्थानीय सरकारले घर नजिकै आएर सेवा दिएको भन्दै यसले समय र खर्च दुवैको बचत भएको बताउउनुभयो । त्यस्तै मुसिकोट–२ निवासी हाल रुपन्देहीको तिलोत्तमामा बस्दै आउनु भएका तेजुराम घिमिरेले नगरपालिकाले बुटवलमै शिविर सञ्चालन गरेर आफुजस्ता ज्येष्ठ नागरिकलाई ठूलो राहत पुराएको बताउनुभयो । मुसिकोट नगरपालिकाले जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तहरुको सहजताका लागि शिविरलाई प्रत्यक वर्ष यसैगरी निरन्तरता दिने जनाएको छ ।


