सुनचाँदी व्यवसायीहरुद्वारा पत्रकार सम्मेलन       

admin

२०८२ असार १७ गते, मंगलवार ०७:२० मा प्रकाशित

रेसुंगा समाचारदाता

गुल्मी, १६ असार । नेपाल सरकारको हालैको बजेट वक्तव्यमा सुनचाँदीको भन्सार दर वृद्धि गरिएको भन्दै गुल्मीका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन । गुल्मी सुनचाँदी व्यवसायी संघले सोमबार पत्रकार सम्मेलन गरि सरकारको उक्त निर्णयले धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत रूपमा महत्वपूर्ण स्थान ओगटेको सुनचाँदीको प्रयोगमा प्रत्यक्ष असर पर्ने बताएका छन ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष झबिन्द्र बिश्वकर्माले सरकारले सुनचाँदीलाई विलासी वस्तु सरह मूल्यांकन गर्नु दुखद कुरा भएको भन्दै यी वस्तुलाई विलासिताका वस्तु भन्नु गलत भएको बताउनु भयो । उहाँले सामाजिक एवं धार्मिक अनुष्ठानमा आवश्यक वस्तुको रूपमा प्रयोग हुँदै आएको जनाउँदै सरकारको निर्णयले आयातमा निर्भर सुनचाँदीको बजार धराशायी हुने तर्क गर्नुभयो ।

सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्यमा सुनमा र चाँदीमा २ प्रतिशत विलासी कर र हिरामा १३ प्रतिशत भ्याट लगाएको छ । संघका अनुसार यसले बजारमा सुनचाँदीको मूल्यमा अत्यधिक वृद्धि हुने, माग घट्ने, कालोबजारी फस्टाउने र हजारौं व्यवसाय र लाखौं परिवारको रोजगारी संकटमा पर्ने सम्भावना रहेको बताईएको छ ।

गुल्मीका सुनचाँदी व्यवसायीहरूले उक्त निर्णयको विरोधमा उद्योग वाणिज्य संघ गुल्मी, चेम्बर अफ कमर्स गुल्मी र अन्य व्यवसायिक संघ–संस्थाको समन्वयमा चरणबद्ध रुपमा थप आन्दोलनको तयारी गरेका छन् । संघले सरकारले चाँडै उक्त निर्णय फिर्ता नलिए देशभरका सुनचाँदी व्यवसायीहरू पूर्ण रूपमा व्यवसाय बन्द गर्दै आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन । संघले सबै सरोकारवाला निकायलाई आन्दोलनमा ऐक्यवद्धता जनाउनका लागि सबैमा हार्दिक अपिल समेत गरेको छ ।