मदानेमा उत्कृष्ट विद्यालय, शिक्षक एवं विद्यार्थीलाई सम्मान

admin

२०८२ असार २२ गते, आईतवार २०:३९ मा प्रकाशित

रेसुंगा समाचारदाता

गुल्मी, २२ असार । मदाने गाउँपालिकाको आयोजनामा उत्कृष्ट बिद्यालय, शिक्षक तथा बिद्यार्थीहरुलाई सम्मान तथा छात्रवृति वितरण गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले उत्कृष्ट सबैजनालाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा स्वेच्छिक अवकाश कोष प्रोत्साहन अनुदान अन्तर्गत सेवा निवृत शिक्षक चुरा बहादुर वोहोरालाई सम्मान गरिएको थियो । उहाँलाई करकट्टी बाहेक नगद एक लाख नगद सहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो ।

त्यस्तै भर्खरै सार्वजनिक भएको एसइई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने विद्यालयका प्रध्यानाध्यापक सञ्जय कुमार सेन, गाउँपालिका भित्र उत्कृष्ट नतिजा ल्याउने छात्रा अंशु पौड्याल र छात्र प्रशान्त भट्टराईलाई पनि सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताउनु भयो । उत्कृष्ट नतिजा ल्याउने दलित तर्फका छात्रा अप्सना विक र छात्र सूर्य बहादुर विक सम्मानित हुनुभएको छ ।

जनजाति तर्फका उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्रा मुना घर्ती र छात्र मञ्जिल श्रेष्ठ तथा प्राविधिक धारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा मुना थापालाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताउनुभयो । साथै सिकाई उपलब्धि परीक्षण अन्तरगत कक्षा ३, ५, ८ र नौ मा प्रथम, द्वितीय र तृतीय हुने बिद्यालयलाई सम्मान गरिएको छ भने सिकाइ उपलब्धी परीक्षामा कक्षा ३,५, ८ र ९ मा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी उपाध्यक्षसँग शिक्षा कार्यक्रम अन्तरगत बिद्यालयले छनौट गरेर पठाएको ४४ जना जेहेन्दार, क्षमता प्रस्फुटन अन्तरगत २१ जनालाई सम्मान गरिएको थियो । वडा शिक्षा समितिले शिक्षक दरबन्दीको अनुपातको आधारमा सिफारिस गरेका ४० जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यालयका विभिन्न तहका प्रध्यानाध्यापकसँग गरिएको करार सम्झौता अनुसार उत्कृष्ट बिद्यालयलाई अनुदान वितरण गरिएको मदाने गाउँपालिकाका शिक्षा शाखाका बिषय बिज्ञ खिम बहादुर कुँवरले जानकारी दिनुभयो ।

मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न उक्त सम्मान तथा छात्रवृति कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता खड्काले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक शिक्षीकाहरु, विद्यार्थी, राजनैतिक दलका प्रतिनिधि, अभिभावक तथा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।