रेसुङ्गा नगरपालिकामा ९२ करोडभन्दा बढीको विकास खर्च, एक सय किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य

admin

२०८२ श्रावण २६ गते, आईतवार २०:०५ मा प्रकाशित

गुल्मी, २५ साउन । रेसुंगा नगरपालिकाले एक आर्थिक वर्षमा ९२ करोड रुपैयाँभन्दा बढीको विकास खर्च गरेको छ । नगरपालिकाले आईतबार पत्रकार सम्मेलन गरी हालसम्मका उपलब्धी र आगामी वर्ष गरिने कार्य योजनाहरूको बारेमा जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले आफ्नो कार्यकालमा नगर भित्र उल्लेखनीय रुपमा स्पष्ट देखिनेगरी विकासका उपलब्धिहरू हासिल भएको दाबी गर्नु भएको छ । नगरपालिकाले पाँच वर्षको अवधिमा एक सय किलोमिटर सडक कालोपत्र तथा ढलान गर्ने लक्ष्य लिएकोमा हालसम्म ६५ किलोमिटर सडक कालोपत्र र ढलान गर्ने काम सम्पन्न भैसकेको जानकारी दिनुभयो । उहाँले आगामी वर्षसम्म बाँकी सडक कालोपत्र तथा ढलान गर्ने योजना रहेको बताउनुभयो ।

नगरले जनताको समस्या बुझ्न, गुनासा सुन्न र तत्काल समस्या समाधानका लागि नगरपालिकाले छिट्टै क्यूआर कोड प्रणाली लागू गर्ने तयारी गरेको बताउनुभयो । यस प्रणालीमार्फत नागरिकहरूले आफ्नो प्रतिक्रिया, समस्या तथा सुझाव प्रत्यक्षरूपमा नगरपालिकासम्म पुर्याउन सहज पुग्ने बताईएको छ ।

जिल्लाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र अर्जुनडाँडामा हावाको माध्यमबाट उर्जा उत्पादनको सम्भाव्यता अध्ययन सुरु गर्ने र त्यसका लागि एक वर्षसम्म त्यस स्थानको निरन्तर हावा मापन गरेर प्राविधिक प्रतिवेदन तयार गर्ने र यदि प्रतिवेदन सकारात्मक आएमा नगरपालिकाको लागत साझेदारीमा उक्त योजना तत्काल अघि बढाउने जानकारी समेत गराृनु भएको छ ।

नगर प्रमुख पन्थीले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विषयहरुलाई नगरले प्रमुख प्राथमिकतामा राखेर निरन्तर रुपमा काम गर्दै आएको कारण नागरिकमा नगर प्रति विश्वास र भरोसा बढ्दै गएको दावी गर्नु भएको थियो । उहाँले नगरको लक्ष्य केवल पूर्वाधारको विकास मात्र नभई नागरिक सेवामा गुणस्तर र पारदर्शिता स्थापित गर्दै रेसुंगालाई आधुनिक, समृद्ध र नागरिकमैत्री शहर बनाउने योजना रहेको बताउनु भएको थियो

पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले आर्थिक वर्ष २०८१÷८२ मा रेसुंगा नगरपालिकाले चालु तर्फ ९१.४२ प्रतिशत र पुँजीगत तर्फ ८७.४३ प्रतिशत गरी कुल ९०.३४ प्रतिशत बजेट खर्च गरेकोे विवरण सार्वजनिक गर्नु भएको थियो