४ बैशाख २०८३, शुक्रबार
तिजी गीत मार्फत पोखियो गाउँका समस्या र वेदना
गुल्मी, २ भदौ । रेसुंगा नगरपालिकाले आयोजना गरेको नगरस्तरीय तिज गीत प्रतियोगितामा सोमबार महिलाहरूले पीडा, वेदना र आकांक्षाका गीतहरु मार्फत वर्तमान अवस्थाको यथार्थ चित्रण प्रस्तुत गरेका छन ।
प्रतियोगितामा सहभागीहरुले गीत मार्फत विदेश पलायनले रित्तिएको गाउँ, त्यही गाउँमा वृद्ध आमाबुबाको असहाय अवस्था, सम्बन्ध विच्छेदले निम्त्याएको परिस्थिति र छुवाछूत जस्ता कुप्रथाको कथा र व्यथा व्यक्त गरेका थिए । उनीहरुले युवालाई स्वदेशमै रोजगारीको वातावरण मिलाउनु पर्ने, बाँझो खेतबारीलाई उर्वर र हराभरा बनाउने, कृषि पेशालाई अगाडि बढाउने जस्ता विषयवस्तुहरु गीत मार्फत समेटेका थिए ।
नगरपालिकाले पक्की सडक, खानेपानीको सुविधा, अक्सिजन कन्सनट्रेटर र डायलासिस सेवा उपलब्ध गराएकोमा महिलाहरूले खुशी व्यक्त गरे । तर, हत्या–बलात्कार, घरेलु हिंसा, र वैदेशिक रोजगारीमा गएकी महिलाको मृत्यु जस्ता घटनाले अझै समाजमा त्रसितको अवस्था रहेको पीडा गीत मार्फत उजागर गरेका थिए ।
कृषि कर्म गर्ने किसानहरुको पीडालाई पनि उनीहरुले गीत मार्फत उजागर गरेका थिए । वर्ष भरी दुख गरेर लगाएको अन्नवाली बादर, बनेल र चराचुरुङ्गीहरुले खाईदिने र किसानहरुको खेतबारी रित्तिदै जाने गरेको भन्दै उक्त समस्या समाधान गर्न पहल गर्न स्थानीय सरकारसँग आग्रह समेत गरेका थिए ।
हाउभाउ र हास्यव्यङ्ग्यात्मक शैलीमा गरिएका कतिपय गीत र नृत्यले अतिथिदेखि दर्शकहरुलाई पेट मिचीमिची हँसाउन बाध्य बनाएका थिए । नगरस्तरीय उक्त तीज गीत प्रतियोगितामा रेसुंगा नगरपालिका वडा नं. ५ प्रथम, वडा नं. ७ द्वितिय र वडा नं .८ तृतीय बनेका थिए ।
विजयी तथा सहभागि सबै समूहहरुलाई राष्ट्रिय सभा सदस्या विष्णुकुमारी सापकोटा, जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्री, नगर प्रमुख खिलध्वज पन्थी लगायतले नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
रेसुंगा नगरपालिकाको आयोजनामा आयोजना गरिएको नगर स्तरीय तिज गीत प्रतियोगितामा नगरपालिका भित्रका १४ वटै वडाका समूहहरुले प्रतिस्पर्धा गरेका थिए ।

