३ बैशाख २०८३, बिहीबार
गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा बिहानैदेखि श्रद्धालुहरुको घुँईचो
गुल्मी, १५ कात्तिक । हरिबोधिनी एकादशीको अवसरमा गुल्मीको पबित्र धार्मिक स्थल रेसुङ्गामा आज बिहानैदेखि श्रद्धालुहरुको घुँईचो लागेको छ । एकादशीको दिनमा धार्मिक स्थल रेसुङ्गाको महापोखरीमा स्नान र पुजाआजा गर्नका लागि रेसुङ्गा क्षेत्रमा श्रद्धालुहरुको घुँईचो लाग्ने गर्दछ ।
हरिबोधिनी एकादशीको दिन रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीको पानीले स्नान गरेपछि चारधाम जानु पर्दैन भन्ने मान्यता छ । महापोखरीमा स्नान गरेसँगै त्यस नजिकै रहेको यज्ञशाला र सिद्धस्थान मन्दिरमा पुजाआजा गरेमा मानिसले आफुले अञ्जानमा गरेका संम्पुर्ण पापहरु समेत नष्टभई पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
त्यही धार्मिक विश्वासका कारण गुल्मी लगायत छिमेकी जिल्लाहरुबाट महापोखरीमा स्नान गर्न आज बिहानैदेखि भक्तजनहरुको घुँईचो लागेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताए । रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा चारधामवाट ल्याएको जल मिसाईएको हुँदा यहाँको पोखरीको पानीले स्नान गर्नाले चारधाम जानु पर्दैन भन्ने मान्यता छ ।
रेसुङ्गाको महापोखरीमा स्नान र पुजाआजाका लागि गुल्मी लगायत अर्घाखाँची, पाल्पा, स्याङ्जा, वाग्लुङ्, प्यूठान, रुपन्देही लगायत धेरै टाढा टाढावाट समेत श्रद्धालुहरु आउने गर्दछन् । एकादशीको अवशरमा रुद्रवेणी र कालीगण्डकी नदीमा पनि आज बिहानैदेखि स्नान तथा पुजापाठ गर्नेहरुको घुइँचो लागेको छ । ठुलो एकादशीको रुपमा चिनिने हरिबोधनी एकादशीलाई गुल्मीमा विशेष महत्वकासाथ मनाउने गरिन्छ ।

