चन्द्रकोट गाउँपालिकाको १८ औं गाउँ सभा सुरू

admin

२०८२ पुष २५ गते, शुक्रबार ०९:४९ मा प्रकाशित

रेसुंगा समाचारदाता

गुल्मी, २४ पुस । गुल्मीको चन्द्रकोट गाउँपालिकाको १८ औं गाउँसभा सुरू भएको छ । अधिवेशनको शुभारम्भ गर्दै गाउपालिका अध्यक्ष युवराज केसी खत्रीले पहिलो बैठकमा सभामा अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

यसैगरी अधिवेशनमा शून्य तथा विशेष समयमा सभासदस्यहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो । बिहिबार सम्पन्न पहिलो बैठकमा बन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक पृथ बहादुर कार्कीले पेश गर्नुभएको चन्द्रकोट गाउँपालिका गुल्मीको सरसफाई तथा फोहरमैला व्यवस्थापन विद्येयक पेश गर्नु भएको थियो ।

गाउँ सभामा आर्थिक विकास समिति संयोजक बल बहादुर बस्नेतले पेश गर्नुभएको औद्योगिक प्रबद्र्धन बिद्येयक पेश भई शैद्धान्तिक विषयमा छलफलपछि दफावार छलफलका लागि विधायन समितिमा पठाईएको थियो । त्यसैगरि चालू आर्थिक बर्षको विनियोजन ऐनको अनुसुचीमा रहेको योजना तथा कार्यक्रम माथिको संशोधन पालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीद्वारा सभा समक्ष पेश भई शैद्दान्तिक छलफल पश्चात् विधायन समितिमा दफावार छलफलका लागि पठाईएको थियो ।

चालू अधिवेशनको पहिलो बैठकमा पालिकाका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण समिति संयोजक तथा उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले पेश गर्नुभएको चन्द्रकोट गाउँपालिका गुल्मीलाई बालश्रम मुक्त पालिका घोषणा गरियोस् भन्ने प्रस्तावलाई सर्वसहमत रूपमा पारित गरिएको थियो । यससँगै अब चन्द्रकोट गाउँपालिका गुल्मी वालश्रम मुक्त गाउँपालिका घोषणा भएको छ ।

यसैगरी सभामा सार्वजनिक लेखा समितिको तर्फबाट समिति संयोजक डिल्लीराज सुवेदीले लेखा समितिको चालू आर्थिक वर्षको अर्धबार्षिक प्रतिवेदन पेश गर्नुभएको गाउँ सभाका सदस्य सचिव एवं प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण चालिसेले बताउनु भएको छ ।