१८ बैशाख २०८३, शुक्रबार
आचारसंहिता पालना गर्न मुख्य निर्वाचन अधिकृतको आग्रह
गुल्मी, २० माघ । निर्वाचन सङ्घारमा आइसकेको भन्दै गुल्मीमा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न जिल्ला स्थित सबै राजनीतिक दल, उम्मेदवार, जनप्रतिनिधि एवं सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ ।
कार्यालयद्वारा मंगलबार सदरमुकाम तम्घासमा आयोजना गरिएको आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफूहरू निर्वाचन सम्पन्न गराउने माध्यम मात्र भएको भन्दै स्वच्छ, निष्पक्ष तथा मर्यादित निर्वाचन सम्पन्न गर्ने दायित्व समग्र सरोकारवालाको रहेको स्पष्ट पार्नुभएको छ । निर्वाचन आचारसंहिता भनेकै कानुन भएकोले कसैबाट पनि यसको उल्लङ्घन स्वीकार्य नहुने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले निर्वाचनको प्रचार–प्रशारको क्रममा लागि सरकारी साधन, स्रोत तथा संरचनाको दुरुपयोग नगर्न आग्रह गर्नुभएको थियो । यस विषयमा जिल्लाभित्र रहेका सबै सरकारी कार्यालय र स्थानीय तहले एकरूपता कायम गरी आचारसंहिताको पूर्णपालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
निर्वाचन सम्पन्न नहुञ्जेलसम्म जिल्लामा कुनै पनि मेला, महोत्सव, शिविर तथा मतदाता प्रभावित पार्ने खालका कार्यक्रम र गतिविधि सञ्चालन गर्न नपाइने भन्दै उहाँले दल र उम्मेदवारलाई कुनै पनि गुनासो तथा उजुरी आउने काम नगर्नका लागि समेत आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधिहरूले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुगमन समितिले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको थियो । उहाँहरुले आचारसंहिता उल्लङ्घनका गतिविधिमाथि समयमै अनुगमन गरी कडाइका साथ कार्यान्वयन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आग्रह समेत गर्नुभएको थियो ।
निर्वाचन सफल बनाउनका लागि सञ्चारकर्मी र सञ्चार माध्यमको भूमिका महत्वपूर्णहुने भन्दै सञ्चारकर्मीहरूलाई पनि कसैप्रति पक्षपात हुने गरी समाचार प्रकाशन तथा प्रशारण नगर्न आग्रह गरिएको थियो । अन्तरक्रियामा निर्वाचन अधिकारी ऋषिराम घिमिरेले निर्वाचन आचारसंहिताका प्रावधान, निर्वाचन अनुगमन तथा उजुरी व्यवस्थापन सम्बन्धी विषयमा जानकारी गराउनुभएको थियो ।
आचारसंहिता सम्बन्धी उक्त अन्तरक्रिया कार्यक्रममा स्थानीयतहका जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

