शिक्षाको गुणस्तर सुधारका लागि ३९० घण्टे मण्टेश्वरी तालिम

admin

२०८२ माघ २१ गते, मंगलवार १६:४१ मा प्रकाशित

गुल्मी, २० माघ । बाल्यकालमै बालबालिकाहरुको सिकाइ उपलब्धिलाई वालमैत्री बनाउँदै दक्ष र व्यवहारिक मण्टेश्वरी जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ गुल्मीको चन्द्रकोट गाउँपालिकामा ३९० घण्टे आधारभूत मण्टेश्वरी तालिम सञ्चालन गरिएको छ ।

प्रारम्भिक बालशिक्षाको गुणस्तरमा सुधार गर्दै, स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गरी रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्ने उद्देश्यका साथ चन्द्रकोट गाउँपालिकामा उक्त तालिम सञ्चालन गरिएको हो । तालिममा सहभागीहरुलाई व्यवहारिक अभ्यासमार्फत प्रदान गएिको मण्टेश्वरी शिक्षण बिधिले उनीहरुमा उत्साह र आत्मविश्वास बढाउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष युवराज खत्रीले बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना तथा चन्द्रकोट गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको मण्टेश्वरी तालिममा अहिले चन्द्रकोट बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २० जना छात्राहरुको सक्रिय सहभागिता रहेको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजिव अर्यालले प्रारम्भिक बालशिक्षाको गुणस्तर सुधार गर्न प्रशिक्षित जनशक्ति अपरिहार्य रहेको भन्दै चन्द्रकोटको सान्तिपुरमा उक्त मण्टेश्वरी तालिम सञ्चालन गरिएको बताउनुभयो ।

तालिमकी प्रमुख प्रशिक्षक साधना भण्डारीले तालिम दीर्घकालीन, सीपमूलक र व्यवहारिक भएकाकारण सहभागिहरुले सिकेको ज्ञान आफ्नै गाउँ, विद्यालय र समुदायमा प्रयोग गर्न सकेमा यसले रोजगारीसँगै उद्यमशीलताको विकासमा समेत थप सहयोगी बन्ने बताउनुभयो ।

तालिम अनुगमन कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख कोष नियन्त्रक महेन्द्रप्रसाद भण्डारीले यस्ता प्रकारका तालिमहरुले वित्तीय अनुशासन र पारदर्शिता कायम गर्न समेत थप मद्दत पुग्ने बताउनुभएको थियो । चन्द्रकोट गाउँपालिकामा घरेलु तथा साना उद्योग कार्यालयले विगतमा पनि पालिकासँग सहकार्य गर्दै सीप र उद्यम विकासका लागि आवश्यक तालिमहरू प्रदान गर्दै आईरहेको छ ।