१९ श्रावण २०८३, मंगलवार
गुल्मी जिल्ला समाज यूकेको १८औँ वार्षिक भेला भव्य रूपमा सम्पन्न
लण्डन। प्रवासमा रहेका नेपालीबीच एकता, संस्कृति र पहिचानलाई थप मजबुत बनाउने उद्देश्यले आयोजित गुल्मी जिल्ला समाज यूकेको १८औँ वार्षिक मेला भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम सम्पन्न भएपछि समाजकी अध्यक्ष मञ्जु भण्डारी खरेलले धन्यवाद तथा कृतज्ञता सन्देश जारी गर्दै भेलाको सफलतामा साथ दिने सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।
उहाँले भेला केवल एउटा सांस्कृतिक कार्यक्रम नभई प्रवासको भूमिमा नेपाली भाषा, संस्कृति, परम्परा, आत्मीयता र एकताको जीवन्त उत्सव बनेको उल्लेख गर्नुभएको छ। “केही घण्टाका लागि भए पनि हामी सबैले आफ्नो गाउँ, आफ्नो माटो र आफ्नो पहिचानसँग पुनः जोडिने अवसर पायौँ,” अध्यक्ष खरेलले सन्देशमा उल्लेख गर्नुभएको छ।
उहाँका अनुसार स्कटल्यान्ड, आयरल्यान्ड, वेल्स, लिभरपुल, मिडल्यान्ड्स, म्यानचेस्टर, अक्सफोर्ड, कोलचेस्टर, केन्ट, साउथ इष्टलगायत यूकेका विभिन्न क्षेत्रबाट घण्टौँ यात्रा गर्दै सहभागी भएका नेपालीहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्य, जीवन्त र अविस्मरणीय बनाएको थियो। कतिपयले दुई दिनको समय छुट्याएर तथा कोचको व्यवस्था गरी कार्यक्रममा सहभागी हुनु समुदायको एकता र संस्थाप्रतिको विश्वासको प्रतीक भएको उहाँले बताउनुभएको छ।
अध्यक्ष खरेलले बेलायतस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत बिपिन दुवाडी, तथा दूतावास परिवार, स्थानीय निकायका पूर्वमेयर तथा काउन्सिलर, विभिन्न संघसंस्थाका प्रतिनिधि, नेपालबाट सहभागि कलाकार, गुल्मेली प्रथम नौमती बाजा टोली, स्थानीय कलाकार, बालप्रतिभा, सञ्चारकर्मी, प्रायोजक, रारा क्याटरिङ परिवार, साउन्ड टिम तथा सम्पूर्ण स्वयंसेवकप्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको छ।
कार्यक्रमको सफलतामा संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, ट्रष्टी, सल्लाहकार, आजीवन सदस्य, कार्यसमिति, कार्यक्रम संयोजक, सह–संयोजक तथा पर्दापछाडि रहेर खटिने स्वयंसेवकहरूको निस्वार्थ योगदान रहेको उल्लेख गर्दै उहाँले सबैप्रति सम्मान व्यक्त गर्नुभएको छ।
सन्देशमा अध्यक्ष खरेलले कार्यक्रम सञ्चालनका क्रममा अनजानमा कुनै कमी–कमजोरी भएको भए क्षमायाचना गर्दै आगामी दिनमा पनि यही एकता, विश्वास र आत्मीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै समाजलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


